निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग हतियार

३ हजार पेस्तोल सापटी लिइँदै

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १७:४१
Image of https://mayorsap.com/storage/photos/shares/police.png

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले हतियारको अभाव टार्न नेपाली सेनासँग गुहार मागेको छ । 

निर्वाचन सुरक्षामा खटिने अधिकारीहरूका लागि साना हतियार (पेस्तोल) अपुग भएपछि प्रहरी प्रधान कार्यालयले सेनासँग सापटीका रूपमा हतियार उपलब्ध गराइदिन पत्राचार गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै करिब ३ हजार थान पेस्तोल सापटी माग गरिएको छ । 

यद्यपि, प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले हतियार माग गरिएको पुष्टि गरे पनि सुरक्षा रणनीतिका कारण यसको यकिन संख्या भने औपचारिक रूपमा सार्वजनिक गर्न चाहेका छैनन् 

नेपाल प्रहरीले विगतका निर्वाचनहरूमा पनि आफ्नो स्रोत र साधनले नभ्याउँदा सेनाबाट हतियार सापटी लिएर सुरक्षा व्यवस्था मिलाउँदै आएको थियो ।

यो पटक हतियारको अभाव हुनुमा पुराना हतियार बिग्रनुका साथै केही समयअघिको जेनजी आन्दोलनका क्रममा भएका झडपमा केही हतियार लुटिनुलाई पनि मुख्य कारण मानिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मौजुदा जनशक्ति र हतियार पर्याप्त नभएपछि प्रहरीले सेनाको सहयोग लिनु परेको हो ।


Facebook Comments