बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार
मेयरसाप डेस्क
|
२०८२ माघ १९ गते १२:१७
काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमसहित नेपालमा पनि आज विश्व सिमसार दिवस मनाइँदै छ ।
प्रत्येक वर्ष ‘फेब्रुअरी २ तारिख’मा विश्वभर मनाइने यस दिवसले जलवायु परिवर्तनका कारण प्रभावित सिमसार क्षेत्रको संरक्षण र संवद्र्धनमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । यस वर्ष तय गरिएको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पदर्छन् । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसको जीवनयापनका लागि अत्याआवश्यक वस्तुको सुनिश्चित गर्दछ ।
सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरेको छ । नेपालमा पछिल्लो पटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सङ्कुचित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।
यसै सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय अव्यवस्थित रुपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, प्रदूषण र मानव बस्तीका कारण सिर्जित विविध समस्यासहित उद्योग–कलकारखानाबाट निस्कने फोहरमैला सोझै नदी तथा सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिका कारण सिमसार क्षेत्रका लागि चुनौती थपिएको बताए।
अतिक्रमण र अत्यधिक दोहनको चुनौती
त्यस्तै जलवायु परिवर्तनका कारण अनपेक्षित रुपमा अत्यधिक वर्षा भई बाढीपहिरोसहित विकराल समस्या सिर्जना हुनु र लामो समयसम्म वर्षाको अभावमा जमिन सुक्खा हुनु, गरिबी र बेरोजगारीका कारण सिमसार क्षेत्र अतिक्रमण हुनु, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट पनि सिमसारका पछिल्ला प्रमुख चुनौती बनेका उनले बताए।
विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन ‘फेब्रुअरी २ तारिख’लाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
रामसार महासन्धिले अन्तरराष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने व्यवस्था गरेको छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या १७२ पुगेको छ । साथै दुई हजार ४२२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।
जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकुञ्ज तथा विभागले यस दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको ‘होर्डिङ बोर्ड’मा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो तहबाट विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिएको विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले जानकारी दिए।
सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएको उल्लेख गर्दै उजले तीनै तहका सरकारको समन्वयमा सिमसार संरक्षणका लागि विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरी निर्माण गर्ने काम भइरहेको जानकारी दिए।
रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तुको बासस्थान यही क्षेत्रमा रहेको पाइन्छ ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान भएको उल्लेख गर्दै महानिर्देशक डा पौडेलले भने, “नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये सिमसार क्षेत्रमा १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएकामध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।”
विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तरराष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।
सिमसार क्षेत्र संरक्षणका लागि कानुनी र नीतिगत व्यवस्था
वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन मन्त्रालयका प्रवक्ता विशाल घिमिरेले जानकारी दिए । सिमसार क्षेत्रको दिगो उपयोगबाट तीनै तहका सरकारको सहभागितामा स्थानीयले पाउने लाभको व्यवस्थापन गर्दै आएको बताउनँदै उनले भने, “सिमसारको संरक्षणका लागि स्थानीयमा जनचेतना र जागरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्, यसको महत्व र संरक्षण बारेमा नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।”
सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको पनि उनले जानकारी दिए। नेपालको संविधान, जलस्रोत संरक्षण ऐन–२०४९, स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति–२०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजनालगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सरकारले प्रतिबद्धता जनाउँदै आएको छ ।
सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धिकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई ‘प्रकृतिको मिर्गौला’ पनि भन्ने गरिन्छ । सिमसारले वस्तु र सेवा प्रदान गर्नाका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ ।
Facebook Comments