बाजुरामा एचपीभी खोप अभियानः १ हजार ८ सयबढी किशोरीलाई खोप लगाइँदै
गोविन्द तिमिल्सेना
|
२०८२ माघ १९ गते १३:३०
बाजुरा । किशोरी लक्षित पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान २०८२ सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार मार्तडीस्थित जिल्ला स्वास्थ्य कार्यालय बाजुराको सभाहलमा नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन हुने एचपीभी खोप अभियान बाजुरामा माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। खोप अभियानमार्फत जिल्लाका ९ वटै स्थानीय तहका कूल १ हजार ८ सय ६ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत १ हजार ७ सय ८१ जना किशोरी र गत वर्ष खोप छुटेका २५ जना गरी जम्मा १ हजार ८ सय ६ जना किशोरीलाई एचपीभी खोप दिइनेछ। विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरूलाई पनि खोपको दायरामा समेटिएको छ।
गत वर्ष जिल्लामा अभियानका रूपमा ७ हजार ८ सयभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइएको थियो। यस वर्ष भने नियमित खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत र छुटेका किशोरी गरी १ हजार ८ सय ६ जनालाई खोप दिइने भएको हो। गत वर्ष सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा १ हजार २ सय ११ र सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा ४ सय ७३ किशोरीलाई खोप लगाइएको थियो।
यस वर्ष सबैभन्दा बढी बुढीनन्दा नगरपालिकामा २ सय ८० र सबैभन्दा कम गौमुल गाउँपालिकामा ८८ किशोरीलाई खोप दिइनेछ। त्यसैगरी बडीमालिका नगरपालिकामा ६ जना छुटसहित २ सय ६८, खप्तड छेडेदह गाउँपालिकामा २ सय ६५, त्रिवेणी नगरपालिकामा १ जना छुटसहित २ सय ५९, बुढीगंगा नगरपालिकामा १८ जना छुटसहित २ सय ४७ किशोरीलाई खोप लगाइने छ।
स्वामीकार्तिक खापर गाउँपालिकामा १ सय ६६, हिमाली गाउँपालिकामा १ सय २० र जगन्नाथ गाउँपालिकामा १ सय ६ किशोरीलाई खोप दिइने जनाइएको छ। खोप अभियान गौमुल, बुढीगंगा र त्रिवेणी नगरपालिकामा माघ २७ गतेबाट, स्वामीकार्तिक खापर, जगन्नाथ, बडीमालिका र खप्तड छेडेदहमा माघ २८ गतेबाट तथा हिमाली गाउँपालिकामा माघ २९ गतेबाट सुरु हुने छ। गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका थिए।
अन्तरक्रिया कार्यक्रममा जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले खोप अभियानलाई सफल बनाउन सबै पक्षले हातेमालो गर्नुपर्ने बताए। खोपले जीवन रक्षा गर्ने भएकाले कुनै पनि किशोरी खोपबाट वञ्चित नहुनुपर्नेमा उनले जोड दिए।
एचपीभी भाइरसका २०० भन्दा बढी प्रकारमध्ये १६ र १८ उच्च जोखिमयुक्त मानिन्छन्। पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक करिब ४ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ। यही रोगको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले समय–समयमा खोप अभियान सञ्चालन गर्दै आएको छ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) बाट हुने गर्दछ। महिलामा देखिने विभिन्न क्यान्सरमध्ये यो प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। तल्लो पेट दुख्ने, दुर्गन्धयुक्त पानी बग्ने तथा अनियन्त्रित रगत बग्ने यस रोगका प्रमुख लक्षण हुन्।
नेपाल सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको अवस्थाबाट अन्त्य गर्ने लक्ष्यसहित तीन वटा स्वास्थ्य सेवाका गन्तव्य निर्धारण गरेको छ।
कार्यक्रम जिल्ला खोप समन्वय समिति अध्यक्ष तुलसीराम रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, बडीमालिका नगर प्रमुख अमर खड्का, उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकाया, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्का, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कर्मचारी प्रशान्त जोशीले गरेका थिए।
Facebook Comments