बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न काठमाडौं महानगरको निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते १२:३०
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu-2.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।

शुक्रबार कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डङ्गोलले सवलीकरण योजनाको अनुगमन गर्दै निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् । 

रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित रु ७४ करोड ४७ लाख ३९ हजार ४४३  थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग रु ४२ करोड ९० लाख १४ हजार ३१० मा सम्झौता भयो । बोलपत्रदातालाई मङ्सिर १५ गते कार्यादेश दिइएको हो । निर्माणकार्य २०८४ मङ्सिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ । 

त्यस्तै, कमलपोखरीको अनुगमनमा क्रममा उनले, सूचना प्रविधि विभागलाई सिसीटिभी क्यामेरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनालाई बिरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा सङ्घसंस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताए ।

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम रु तीन करोड ५८ लाख ८७ हजार ५२ हो । यसको लागत अनुमान रु चार करोड छ लाख ८१ हजार ८० गरिएको थियो । यो रकम भ्याट र पिएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मङ्सिर १५ गते कार्य सम्पन्न हुनुपर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४।८३ प्रतिशत भएको बताइएको छ ।

दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर ‘ट्याक्टिकल अर्वनिजम’ अन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदलयात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, बिरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।

कमल पोखरीको वरिपरि पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।


Facebook Comments