भक्तपुर–२: राजीब खत्री र महेश बस्नेत आमने–सामने, को 'सेफ जोन'मा ? (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते १४:५०
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-07-at-23809-pm.jpeg

भक्तपुर–२ः यो पटक जनताले कुन उम्मेदवारलाई बोक्लान् बूई ? यो क्षेत्रमा यस पटक भिमकाय रुपमा राम भाई युद्ध हुुँदैछ । रास्वपाका राजीब खत्री र एमालेका महेश वस्नेत आमने सामने हुँदैछन् । राजीब र महेश सम्बन्धका हिसावले पनि जानी दुश्मन जस्तो मानिन्छन् । 

चुनावी सभ्यताको चौखट नाघेर व्यक्तिगत तहबाटै युद्धको ऐलान गर्ने महेश र टेलिभिजन पर्दाबाट बस्नेतको कुण्डली कोट्याउने खत्री बीचको भिडन्तमा कसको सिंग फुक्लेला भन्ने आम जनमानसमा चासो छ । यद्यपी बस्नेतकै इलाकामा धमाका मचाउने भन्दै खत्रीले खतरा मोलेपछि यी दुईबीचको व्याटल थप रोचक मोडमा पुगेको छ । जेनजी विद्रोहपछि महेशले राजीबलाई व्यक्तिगत आरोप प्रमाणित गर्न नसके तेलमालिस गर्ने सम्मको धम्कीपूर्ण अभिव्यक्ति दिएपछि चिढिएका खत्री अन्ततःउनकै क्षेत्रमा चूनाव लड्न पुगेका छन् । 

पुरानाविरुद्ध परिवर्तनको शंखघोष गरेर, पुराना विस्थापित नयाँ स्थापितको एजेण्डासहित देशैभर माहौल बनाएको रास्वापको उभार हेर्दा भक्तपुरमा भयंकर विकास गरेको दाबी गर्ने महेश बस्नेतलाई पनि जित हात पार्न सजह देखिदैन । महेशका लागि घण्टी घाँडो हुन सक्ने कोणबाट विश्लेषण भइरहेका बेला उनले भक्तपुर २ मात्रै नभएर काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा एमालेले चुनाव जित्ने दाबी गरेका छन् ।

त्यस्तै जनधार बलियो नभए पनि युवापंत्तिमा चिनिएका नेपाली कम्युनिस्ट पार्टीका नेता रामप्रसाद सापकोटा दीपशिखा पनि चुनावी मैदानमा छन् । उनलेसमेत महेश र राजीबलाई धक्का दिन सक्ने अनुमान छ । अर्को तर्फ यसअघि चूनाव जितेको नेपाली कांग्रेसको रुखसमेत ठाडै भएकाले सबैका लागि साझा चूनौती छ । भक्तपुर २ को चुनावी मोडल हेर्दा जनता हरेक पटक मत बदल्ने मूड देखिएका छन् । २०४८ साल यता यो क्षेत्रमा नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् । अहिले नयाँ उम्मेदवार नै मैदानमा उत्रिए पछि यो पटकको भिडन्त, पुराना भर्सेस नयाँको बीचमा हुने पक्कापक्की भएको छ ।

भाषामा शव्द घोलेर अभिव्यक्तिमा आगो ओकल्ने बस्नेत र खत्रीनै अहिलेका मुख्य दाबेदार मानिएका छन् । जसका कारण पनि भक्तपुर २ को चुनावी चर्चा तातेर भकभकी उम्लिएको तातो तेल जस्तो बनेको छ । यद्यपी जेनजी विद्रोह पछि एमाले र केपी ओलीको रक्षा कबचका रुपमा आफुलाई प्रमाािण्त गरेका महेश बस्नेत यो क्षेत्रका रैथाने नेता हुन् । भक्तपुरको विकासमा उनले पु¥याएको योगदानलाई पनि जनताले सहजै नकार्न सक्ने अवस्था छैन । अभिव्यक्तिका हिसावले महेशलाई मुखाले भने पनि पार्टीका लागि बहादुर सिपाई भएको अर्थमा हेर्ने कार्याकर्ताको जमात ठूलो छ । 

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रमा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले सचिव बस्नेत, कांग्रेसका कविर राणा, नेपाली कम्युनिस्ट पार्टीबाट ९दीपशिखा०, रास्वपाका राजीव सहित राप्रपाका विक्रम थापा, नेमकिपाका रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०का जन्मदेव जैसीलगायत ३२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेस–नेमकिपा–एमालेबीच २०४८ साल देखि आलोपालो, को–को सांसद भए?

यो क्षेत्रमा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले चुनाव जितेका थिए । २०५१ सालमा भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का आशाकाजी बसुकलाले जिते । २०५६ सालमा पुनः नेपाली कांग्रेसका लेखनाथ न्यौपाने विजयी भए । २०६४ सालमा नेमकिपाले कमब्याक ग¥यो । नेमकिपाका सुनिल प्रजापति सांसद बने ।

२०७० सालमा फेरि कांग्रेसले पासा पल्टायो र रामेश्वरप्रसाद ढुंगेल सांसद बने । २०७४ मा कांग्रेसको किल्ला भत्काउँदै एमालेका उम्मेदवार महेश बस्नेत विजयी भए । २०७९ मा फेरि उनै महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी भए । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी र रास्वपाको पनि राम्रो मत छ । २०७९ को चुनावमा तेस्रो स्थानमा नेमकिपा, चौथोमा रास्वपा र पाँचौंमा राप्रपा थिए । उनीहरूले ल्याएको मत क्रमशः ७ हजार १२७, ४ हजार ९८ र २ हजार ५६९ थियो । ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता छन् । 


Facebook Comments