झापा गोल्डकप सुरुः उद्घाटन खेलमा झापा-११ विजयी
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते १८:५८
झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजक झापा-११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो । तर, त्यसयता झापा-११ ले दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व विनोद बस्नेत स्मृति संस्करण अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरिन् । उद्घाटन समारोह झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समारोहमा समाजसेवी स्व डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई रु एक लाखसहित सम्मान गरिएको छ । सो अवसरमा देवीगुठीका नाममा करिब १४ बिघा जग्गा प्रदान गर्नुभएका स्व राजवंशीको अर्धकदको शालिकसमेत अनावरण गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्कासहित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत व्यक्तिको उपस्थिति थियो ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित झापा गोल्डकपको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रु ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रु २१ हजार प्रदान गरिनेछ । विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड, लालीगुराँस क्लब पोखरा, रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्ट क्लब (भारत), एन पेनाङ फुटबल क्लब (मलेसिया) र आयोजक झापा-११ गरी १० टोली सहभागी छन् ।
विसं २०७२ देखि झापालाई फुटबल हवका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ लोकप्रिय मानिन्छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद रु २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comments