गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते २१:०१
गुल्मी- यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।
भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरूबीचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलतालगायत विषय र अवस्थाको अध्ययन गरी सोही आधारमा उक्त मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले अतिसंवेदनशील भनिएका उक्त मतदानस्थलको निरीक्षण तथा अवलोकनसमेत गरिसकेको छ । समितिद्वारा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लामा द्रुत गतिमा काम गरिरहेको उनले उल्लेख गरे ।
मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट माविबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रूपमा ५१६ जना मतदातालाई सार्नका लागि समितिले गरेको सिफारिस आयोगबाट स्वीकृत भएको समितिका अध्यक्ष गैह्रेले जानकारी दिए ।
उनका अनुसार यस पटकको निर्वाचनका लागि जिल्लामा तीन वटा मतदानस्थल थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मतदानस्थल पुनरावोलकन समितिको सिफारिसमा निर्वाचन आयोगद्वारा उक्त मतदानस्थल थप गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।
नयाँ थप गरिएका मतदानस्थलमा सत्यवती गाउँपालिका‐६ को वडा कार्यालय, मुसिकोट‐१ स्थित सेवा केन्द्र सिम्ले र गुल्मीदरबार गाउँपालिका‐१ स्थित बलिथुम नरहरि कँडेल माध्यमिक विद्यालय रहेका छन् । जिल्लामा कारागारका कैदी र कर्मचारीका लागि कारागार कार्यालय र रुद्ववेणी वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि सोही वृद्धाश्रममा मतदान केन्द्र राख्नसमेत आयोगमा सिफारिस गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा हाल एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई जना मतदाता छन । जिल्लामा हाल १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए ।
Facebook Comments