Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

टी–२० विश्वकप: पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपाल पराजित

User Image मेयरसाप डेस्क | २०८२ माघ २५ गते १९:००
Image of https://mayorsap.com/storage/photos/shares/nepal-england.jpg

मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले जित हात पार्न सकेन।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात दिलाए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि छैटौं ओभरमा कुशल भुर्तेल पनि पवेलियन फर्किए। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए। दुवै ओपनर गुमाउँदा नेपाल ४२–२ को अवस्थामा पुगेको थियो।

त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले एक समय इंग्ल्यान्डलाई दबाबमा राखेको थियो। तर १५औं ओभरमा साम करनको बलमा दीपेन्द्र आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो।

दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए। यो इनिङ्ससँगै उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्दै नेपालका लागि उक्त कीर्तिमान बनाउने पहिलो खेलाडी बने। लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए। उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनको योगदान दिए। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै इनिङ्सलाई बलियो फिनिस दिए।

इंग्ल्यान्डको सुरुवात भने कमजोर रह्यो। ओपनर फिल साल्टलाई डेब्युटान्ट शेर मल्लले पहिलो बलमै आउट गरेपछि इंग्ल्यान्ड दबाबमा परेको थियो। ५७–३ को अवस्थामा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।

बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।


Facebook Comments