Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै

User Image मेयरसाप डेस्क | २०८२ माघ २७ गते १०:०२
Image of https://mayorsap.com/storage/photos/shares/hpv-khop_1.jpg

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई  एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने उनले जानकारी दिए।

“प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ”, अधिकृत कुँवरले भने, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा विद्यालय र स्वास्थ्य संस्था गरी जम्मा ४६५ खोप केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको छ । भीमदत्त नगरपालिकामा सबैभन्दा बढी एक हजार ३९०, कृष्णपुर नगरपालिकामा ८४३, पुनर्वास नगरपालिकामा ७४३, बेदकोट नगरपालिकामा ६०६, शुक्लाफाँटा नगरपालिकामा ५४७ जना किशोरीलाई खोप लगाउने कार्यक्रम छ ।

त्यसैगरी, बेलौरी नगरपालिकामा ५६१, दोधारा चाँदनी नगरपालिकामा ५१०, लालझाडी गाउँपालिकामा २५० र बेलडाँडी गाउँपालिकामा २२८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको अधिकृत कुँवरले जनाकारी दिए । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो । नेपालमा पनि महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामै एचपिभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । प्रारम्भिक चरणमा लक्षण नदेखिने भएकाले ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

खोप अभियान सञ्चालनका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई परिचालन गरिएको छ । सबै खोप केन्द्रमा खोपसहित आवश्यक सामग्री पुर्याइसकिएको कोल्डचेन अधिकृत कुँवरले जानकारी दिए । खोप लगाउने लक्षित समूह कोही पनि नछुटुन् भनेर विशेष सावधानी अपनाइएको उनको भनाइ छ । सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरीलक्षित एचपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ । 


Facebook Comments