Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपा नेता बालेन शाहको मधेश दौडाहाः सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान

User Image मेयरसाप डेस्क | २०८२ माघ २८ गते १४:०६
Image of https://mayorsap.com/storage/photos/shares/balen-in-sarlahi.jpg

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी माहोल तताउन र पार्टी उम्मेदवारहरूको मनोबल उच्च राख्न यतिबेला मधेश प्रदेशको भ्रमणमा रहेका छन् । बुधबार उनी सर्लाही र रौतहटका विभिन्न स्थानमा ‘रोड शो’ गर्दै बाराको निजगढ पुगेका छन् ।

भ्रमणको क्रममा शाहले बुधबार बिहान सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ मा भव्य रोड शो गरेका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट अमरेश कुमार सिंह चुनावी मैदानमा छन् । नेता शाह बिहान लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा पुगेका थिए भने त्यहाँबाट हुलाकी मार्ग हुँदै क्षेत्र नम्बर ४ मा प्रवेश गरेका थिए ।

सर्लाहीबाट रौतहट आइपुग्दा नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए ।

यसैबीच, चन्द्रनिगाहपुरमा भएको भीडभाडको फाइदा उठाउँदै एक समर्थकको सुनको सिक्री चोरी भएको गुनासो आएको छ । रोड शोका क्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरे पनि कुनै औपचारिक भाषण भने गरेनन् ।

रौतहटमा घन्टी बजाउँदै रोड शो समापन गरी शाह बाराको निजगढ तर्फ प्रस्थान गरेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी निजगढबाट कलैया हुँदै आजै पर्साको वीरगन्ज पुग्ने तालिका रहेको छ ।


Facebook Comments