कार्यकर्तालाई नेपाली कांग्रेस कञ्चनपुुरको निर्देशन–अन्य दलका उम्मेदवारको पोष्टमा लाइक, कमेन्ट नगर्नू
मेयरसाप डेस्क
|
२०८२ माघ २८ गते १५:२८
काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहितामा कडाइ गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई स्पष्ट निर्देशन दिएको छ। जिल्ला कार्यसमिति सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा कार्यकर्ताहरुलाई पार्टीका आधिकारिक उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारको पक्षमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन निर्देशन दिइएको हो।
विज्ञप्तिमा सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक, सेयर वा प्रचार–प्रसार जस्ता गतिविधिमार्फत विपक्षी उम्मेदवारको समर्थन हुने कार्य नगर्न सचेत गराइएको छ। पार्टीको आधिकारिक धारणा र रणनीतिबाहिर गएर सार्वजनिक अभिव्यक्ति दिनु संगठनात्मक अनुशासनविपरीत हुने उल्लेख गरिएको छ।
कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई उम्मेदवारसँगै हिँडेर प्रचार गर्नेभन्दा आफ्नै टोल, वडा र क्षेत्रमा केन्द्रित भएर जनमत निर्माणमा सक्रिय हुन आग्रह समेत गरेको छ। आवश्यक परे अन्य वडामा जानुअघि सम्बन्धित सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ। स्थानीय तहमा छलफल, विचार आदान–प्रदान तथा सहजीकरणलाई प्रभावकारी बनाउन आ–आफ्नो कार्यक्षेत्रमै सक्रिय रहन निर्देशन दिइएको छ।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै तहका नेता–कार्यकर्तालाई संगठित र समन्वित ढंगले परिचालन हुन आह्वान गरेको छ। सामाजिक सञ्जालमा अनुशासन कायम राख्दै पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजान स्पष्ट सन्देश दिइएको छ।
यसअघि २०७९ सालको निर्वाचनका बेला पनि कांग्रेस कञ्चनपुरले यस्तै प्रकृतिको निर्देशन जारी गरेको थियो। त्यतिबेला सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अरूको पक्षमा अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक नगर्न तथा विपक्षमा टिकाटिप्पणी नगर्न भनिएको थियो। यसपटक पनि उही ढाँचामा सामाजिक सञ्जाल आचरणलाई कडाइका साथ लागू गर्ने संकेत गरिएको छ।

Facebook Comments