Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निषेधाज्ञा तोडेर विमानस्थल पुग्ने राजावादीको तयारी, काठमाडौंमा हाई अलर्ट सुरक्षा

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १०:५९
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-02-13-105702.png

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्कने कार्यक्रमलाई लक्षित गरी राजावादी समूहले गर्न सक्ने प्रदर्शन र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था उच्च पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहानैदेखि मुख्य सडक, चोक र गल्लीहरूमा प्रहरीको गस्ती बढाइएको छ।

पूर्वराजा शाह मध्याह्न १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ। उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू र राजावादी अभियानमा आबद्ध व्यक्तिहरू ठुलो संख्यामा विमानस्थल पुग्ने तयारीमा छन्।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई हेर्दै विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि राजावादीहरूले भने त्यसलाई उल्लंघन गरेरै स्वागतमा जाने बताएका छन्। स्वागत कार्यक्रममा कुनै पनि पार्टीको झन्डा वा ब्यानर प्रयोग नगर्ने तर पूर्वराजाको स्वागतमा कुनै कसर बाँकी नराख्ने उनीहरूको भनाइ छ।

प्रहरीले सम्भावित अराजकता र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न गण, गुल्म तथा अन्य कार्यालयका टोलीहरूलाई स्ट्याण्डबाई राखेको बताएको छ। विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलहरूमा समेत सुरक्षाकर्मीको संख्या बढाइएको छ भने प्रवेश गर्ने व्यक्तिहरूमाथि कडा चेकजाँच सुरु गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  सडक र चोकहरूमा थप प्रहरी परिचालन गरिएको र आवश्यक परेको खण्डमा तुरुन्तै परिचालन हुने गरी मद्दत टोली समेत तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। प्रहरीले विमानस्थलमा भइरहेको चेकजाँचलाई नियमित कार्यको रूपमा लिएको भए पनि आजको विशेष परिस्थितिका कारण थप सतर्कता अपनाइएको बताएको छ।


Facebook Comments