Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनावः व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १६:४२
Image of https://mayorsap.com/storage/photos/shares/photo-8-a3422688.jpg

रौतहट । गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ । ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजिएको थियो । तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ ।

कार्यालय हटाउन लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन् । प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै सरकारी कदमको विरोध गरिरहेका छन् ।

रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले देश निर्वाचनमा होमिएको र सबैको ध्यान त्यता मोडिएको मौका छोपेर सुटुक्क सामान लैजान खोजिएको आरोप लगाए । विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत कार्यालय सार्न लागिएको भन्दै आपत्ति जनाए ।

नेकपा एमालेका नेता एवं उम्मेदवार अजयकुमार गुप्ता र रास्वपा उम्मेदवार राजेश चौधरीले गौरको कार्यालय अन्यत्र लैजान नहुने र यस्तो गरिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । स्थानीयले गौर करदाता सेवा कार्यालयलाई यथावत राख्न माग गर्दै आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्।


Facebook Comments