Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रेम दिवस र सम्बन्धको यथार्थ : के प्रेममा हिसाब-किताब हुन्छ ?

User Image मेयरसाप डेस्क | २०८२ फागुन १ गते १०:१६
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-02-13-at-60713-pm.jpeg

आज १४ फेब्रुअरी अर्थात् प्रेम दिवस। संसारमा एउटा मात्र यस्तो सम्बन्ध हुन्छ जहाँ कुनै अपेक्षा र सर्त हुँदैन—त्यो हो आमाबुवाको माया। उनीहरूले आफ्ना सन्तानलाई निस्वार्थ रूपमा माया, हेरचाह र सुरक्षा दिन्छन् र बदलामा केही चाहँदैनन्। तर, जब दुई वयस्कहरूको बीचमा प्रेम सम्बन्ध सुरु हुन्छ, त्यहाँ अपेक्षा, समझदारी र विश्वासको ठूलो भूमिका हुन्छ। प्रेममा केवल ‘म केही पाऊँ’ भन्ने मात्र होइन,‘म पनि केही दिन्छु’भन्ने भावना हुनुपर्छ। यो एउटा यस्तो साझेदारी हो, जहाँ दुवैले एकअर्कालाई माया र सहयोग दिन्छन् पनि र पाउँछन् पनि।

के सम्बन्धमा हिसाब राखिन्छ ?

यदि तपाईंको पार्टनरले हरेक कुराको हिसाब गरिरहेको छ भने, सायद उसले आपसी साझेदारीको मर्म बिर्सिरहेको हुनसक्छ। यस्तो अवस्थामा असमझदारीलाई चिर्न तपाईं आफैँले प्रयास गर्नुपर्छ, किनकि सम्बन्ध कहिल्यै एकतर्फी हुँदैन।
त्यसोभए, के सम्बन्धमा हिसाब खोज्नु सधैँ गलत हो त ? धेरैलाई लाग्छ कि पार्टनरले केही प्रश्न गर्दा उसले हिसाब माग्यो र अब माया सकियो। तर वास्तवमा त्यस्तो हुँदैन। यहाँ हिसाबको अर्थ डायरीमा नोट गरेर ‘मैले यति दिन काम गरेँ, तिमीले यति’ वा ‘मैले यति खर्च गरेँ, तिमीले यति’ भन्नु मात्र होइन। घरको काम, खर्च र जिम्मेवारी बाँडफाँट त सम्बन्धलाई बचाउन र सन्तुलित बनाउनका लागि गरिन्छ, कसैलाई नीचा देखाउन होइन।

सम्बन्धमा हिसाब तब घातक बन्छ, जब हरेक कुरामा गन्ती सुरु हुन्छ र झगडाको बेला विगतका पानाहरू बारम्बार पल्टाइन्छन्। जब ‘तिम्रा लागि मैले धेरै गरेँ, तिमीले कम गर्यौ’ वा ‘मभन्दा बढी कसले सम्झौता गरेको छ र ’ ? जस्ता बहस सुरु हुन्छन्, तब सम्बन्धमा दरार आउन थाल्छ। यो माया नभएर अविश्वासको संकेत हो, जसले वयस्क जोडीहरूको सम्बन्धलाई बिस्तारै बर्बाद बनाउन सक्छ। पछिल्ला वर्षहरूमा यस्तै असमझदारीका कारण सम्बन्धहरू जोडिनुभन्दा टुट्न धेरै थालेका छन्। त्यसैले, एकअर्काप्रतिको भरोसा र विश्वास नै सम्बन्ध टिकाउने मुख्य आधार हो।

मनोवैज्ञानिक पक्ष र असुरक्षा

जब सम्बन्धमा अविश्वास बढ्छ, कुराहरू स्वतः हिसाब(किताबमा बदलिन्छन्। मनोविज्ञानका अनुसार, जब कुनै व्यक्तिले सम्बन्धमा असुरक्षित महसुस गर्छ, उसले आफूलाई बचाउन हरेक कुरामा तुलना र नियन्त्रण गर्न थाल्छ। कतिपय अवस्थामा झुटको सहारा लिँदा सम्बन्धमा झनै दूरी बढ्छ। यस्तो बेला व्यक्ति चाहन्छ कि दुवैको प्रयास बराबर देखियोस्, जसका कारण बारम्बार भरोसा दिलाउनुपर्ने स्थिति आउँछ। यो भित्री असुरक्षा, तिरष्कृत हुने डर र आत्मविश्वासको कमीको परिणाम हो। यदि यो क्रम लामो समयसम्म चल्यो भने सम्बन्धमा सामिप्यता हराउँछ र साथ निभाउनुको साटो एक किसिमको प्रतिस्पर्धा महसुस हुन थाल्छ।

के केही परिस्थितिमा हिसाब जरुरी हुन्छ ?
हो, केही परिस्थितिमा सम्बन्धको लेखाजोखा जरुरी देखिन्छ। यदि एकजनाले मात्र पूरा घरको आर्थिक वा भावनात्मक बोझ उठाइरहेको छ र अर्कोले कुनै प्रयास नगरी केवल माग मात्र गरिरहेको छ भने, त्यहाँ प्रश्न उठाउनु गलत होइन। एकजना मानिस लगातार चार कदम अगाडि बढ्ने र अर्को चाहिँ शून्यमै उभिरहने हो भने लामो समयमा त्यसले सम्बन्धलाई कमजोर बनाउँछ।

सम्बन्धलाई सुधार्न इमानदारीपूर्वक आफैँलाई केही प्रश्नहरू सोध्नुहोस्ः

के म साँच्चै यो सम्बन्ध जोगाउन प्रयास गरिरहेको छु?
के मेरा प्रयासहरू पार्टनरले देखिरहेका छन्?
के मैले दिने भावनात्मक सहयोग (जुन देखिँदैन तर महत्त्वपूर्ण हुन्छ) लाई महत्त्व दिइएको छ ?
धेरै पटक एकजनाको प्रयास प्रत्यक्ष देखिन्छ भने अर्कोको प्रयास महसुस मात्र हुन्छ। पार्टनरको कुरा सुन्नु र उनलाई मानसिक साथ दिनु जस्ता कुराहरू आँखाले नदेखिए पनि निकै मूल्यवान् हुन्छन्।
सम्बन्ध जोगाउन सहयोग गर्ने केही सुझावहरूः
१. सम्बन्धमा आरोप लगाउनुभन्दा आफ्नो भावनालाई स्पष्टसँग व्यक्त गर्नुहोस्।
२. सकेसम्म एकअर्काको कुरा र दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्।
३. आफ्नो व्यवहारले पार्टनरलाई कस्तो असर परिरहेको छ, सोच्नुहोस्।
४. यदि हामी परिवर्तनका लागि तयार छौँ भने सम्बन्ध पक्कै सुध्रिन सक्छ।
प्रेमलाई केवल एउटा जोडीको सीमित घेरामा मात्र नराखौँ, यसलाई फराकिलो बनाऔँ। विश्वास र भरोसा नै सम्बन्धको वास्तविक सुन्दरता हो।


Facebook Comments