सर्लाहीमा १५ वर्षीय बालक गोली लागेर घाइते
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १५:५८
मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवामा बेवारिसे अवस्थामा भेटिएको पेस्तोल खेलाउने क्रममा गोली चल्दा एक १५ वर्षीय बालक घाइते भएका छन् ।
मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका छोरा आकाश राम बिहीबार दिउँसो गोली लागेर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’मा निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु फेला परेको थियो ।
उक्त वस्तु खोलेर हेर्दा पेस्तोल भेटिएको र बालकले नक्कली होला भनी खेलाउने क्रममा अचानक पड्किँदा उनको दाहिने हातको पञ्जामा गोली लागेको हो ।
घाइते बालकको हाल प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
इन्जिनियर हत्यासँग जोडिएको आशंका
यही फागुन ३ गते राति मलङ्गवामै अज्ञात समूहको गोली प्रहारबाट सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो ।
आज फेला परेको यो बेवारिसे पेस्तोल इन्जिनियर यादवको हत्यामा प्रयोग गरिएको हतियार हुन सक्ने आशंकामा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।
हत्याराले प्रमाण नष्ट गर्न वा लुकाउन मन्दिरको कुनामा हतियार छाडेको हुन सक्ने अनुमान गरिएको छ ।
Facebook Comments