बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी
मेयरसाप डेस्क
|
२०८२ फागुन ८ गते ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालन्द्र शाहले नागरिकतामा घर ठेगाना परिवर्तन गरेको विषय सार्वजनिक भएपछि सो प्रकरणमा छानबिन गर्न माग गरिएको छ। नागरिकता ऐन, २०६३ विपरीत विवरण परिवर्तन गरिएको दाबी गर्दै बालेनविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको हो ।
उजुरीकर्ता युवराज सफलले दिएको निवेदनअनुसार बालेनले पहिले लिएको नागरिकतामा उल्लेखित स्थायी ठेगाना परिवर्तन गरी पछि प्रतिलिपि लिँदा फरक विवरण उल्लेख गराएको आरोप छ। उजुरीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेश भएका कागजातसमेत अध्ययन गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ।
उनले उजुरीमा भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाहले मिति २०६३ पौष ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बर रहेको वंशजको नागरिकता लिएको निजको नागरिकतामा थर साह उल्लेख गरिएको तर निजले काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट मिति २०७९ असार १९ गतेका दिन नागरिकताको प्रतिलिपि लिँदा भने आफ्नो थरमा शाह उल्लेख गरेको देखियो । निज बालेन्द्र साहले झुटो विवरण परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएर, नागरिकता ऐन, २०६३ सम्बन्धी कसुर गरेकोले निजलाई नागरिकता ऐन सम्बन्धी हदैसम्मको कारबाही गर्न प्रस्तुत निवेदन पेस गरेको छु ।
नागरिकता ऐन, २०६३ को दफा १२ र दफा १७ अनुसार झुटो विवरण पेश गरी नागरिकता लिएको वा परिवर्तन गरेको पाइएमा नागरिकता रद्द गर्न सकिने तथा कानुनी कारबाहीको व्यवस्था रहेको उल्लेख गर्दै उजुरीकर्ताले सोही आधारमा कारबाही अघि बढाउन अनुरोध गरेका छन्।
उक्त निवेदनमा सम्बन्धित निकायबाट तथ्य जाँच गरी दोषी ठहरिए कडा कारबाही गर्न, नागरिकता रद्द गर्न तथा जरिवाना र कैद सजायसमेत लागू गर्न माग गरिएको छ।

Facebook Comments