गुल्मी–१ मतको अन्तिम युद्ध, तीन नेताको भयंकर टक्कर, सागर–प्रदीप–चन्द्र कसको भागमा ठक्कर ? (भिडियोसहित)
जनेश ठकुल्ला
|
२०८२ फागुन ८ गते ०८:५८
भनिन्छ– हुति हुनेले मति दिन्छ, नहुनेले धारे हात लाउँछ । गुल्मी क्षेत्र नम्बर १ को चुनावी मैदानमा अहिले यस्तै मति र शक्ति दुवै भएका नेताहरू एकआपसमा भिड्दैछन् । एकातिर संसदीय राजनीतिका मुरब्बी प्रदीप ज्ञवाली र अर्कोतिर कांग्रेसका आशलाग्दा नेता चन्द्र भण्डारी, अनि यी दुई पुराना हस्तीलाई सातो खान घण्टी बजाउँदै रास्वपाका युवा तुफान, सागर ढकालले रेश बढाएका छन् ।
यी त्रिमूूर्तिको भिडन्तले गुल्मी–१ चुनाव दोस्राको खैलाबैलातेस्राको लाभ हुुनेत हैन भन्ने कोणबाट पनि विश्लेषण भइरहेको छ । आउनुहोस्, यहाँको राजनीतिक दाउपेचलाई नजिकबाट केलाऔँ ।
नम्बर—१ प्रदीप ज्ञवाली
संसदीय राजनीतिमा २०६४ र २०७४ सालको चुनाव जितेर ह्याट्रिकको नजिक पुगेका ज्ञवालीका लागि २०७० र २०७९ सालको हार निकै महँगो साबित भयो । गुल्मी १ बाट जितको झण्डा गाडेका ज्ञवाली गत निर्वाचनमा भने कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका थिए । अघिल्लो पटक १ हजार ५९२ मतले मतले पछारिएका ज्ञवाली यसपटक ‘दूधले पोलेको बिरालोले मोही पनि फुकी–फुकी खान्छ’ भनेझैँ, निकै सचेत भएर मैदानमा उत्रिएका छन् ।
सदन होस् वा सार्वजनिक मञ्च, विपक्षीलाई गालीगलौज नगरी तार्किक र नम्र रूपमा आलोचना गर्ने उनको शैलीका प्रशंसक विपक्षीमै पनि छन् । उनलाई धेरैले मिस्टर क्लिनको छविमा पनि हेर्ने गर्छन् । परराष्ट्र मन्त्री हुँदा गुल्मीमा उनले भित्र्याएका सडक, पुल र शैक्षिक पूर्वाधारका योजना नै उनको जितको मुख्य आधार मानिएका छन् । ‘बाघ बुढो भए पनि शिकार गर्न छोड्दैन’ भनेझैँ यसअघि जितको स्वाद चाखिसकेका ज्ञवाली यसपटक अघिल्लो हारको बदला लिने दाउमा छन् ।
एमालेको सुदृढ संगठन र क्रियाशिल सदस्यको भोटले उनलाई सहज त बनाउला, तर बासी भातमा घ्यू हालेर मात्रै नअघाउने नयाँ पुस्ताको चाहना र ३० वर्षदेखि एउटै अनुहार देख्दा मतदातामा पलाएको वितृष्णा ज्ञवालीका लागि निल्नु न ओकल्नु हुने देखिन्छ ।
नम्बर—२ चन्द्र भण्डारी
यता कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी पनि के कम? गत निर्वाचनमा जित निकालेर हौसिएका भण्डारी फेरि बाजी मार्ने दाउमा छन् । आन्दोलन, जेल जीवन र निरन्तर संघर्षले खारिएका भण्डारीको छवि गुल्मीमा निकै परिपक्व मानिन्छ । बलियो प्रतिस्पर्धीलाई पराजित गरेको अनुभव उनीसँग छ ।
तर, ‘अघि बढौं त बाघको मुख, पछि हटौं त भीर’ भनिए जस्तो यसपटक भण्डारीलाई चुनाव जित्न त्यति सहज छैन । किनकि अघिल्लो पटकको मतान्तर निकै कम थियो र यसपटक पार्टीभित्रको आन्तरिक किचलोले उनलाई आफ्नै छायाँसँग डराउनुपर्ने अवस्थामा पुर्याएको छ । पुराना र कडा प्रतिस्पर्धी ज्ञवाली त छँदै थिए, त्यसमाथि रास्वपाका सागर ढकालको इन्ट्रीले भण्डारीको बेचैनी बढाएको छ ।
नम्बर—३ सागर ढकाल
गुल्मी १ मा यो चुनावका सबैभन्दा चर्चित र रोचक ट्वीस्ट भनेकै सागर ढकाल हुन् । गत निर्वाचनमा डडेलधुरा पुगेर ५–५ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा जस्ता राजनीतिक भीष्म पितामहसँग भिड्ने आँट गरेका सागर अहिले गुल्मी झरेका छन् । देउवालाई चुनावमा कडा टक्कर दिएर हायलकायल बनाएका सागरका लागि त्यो बेला हार पनि सम्मानजनक थियो । कतिले उनको आँटलाई तारिफ गरे त कतिले मूर्ख र टुरिस्ट उम्मेदवारको बिल्ला भिराए ।
यसपटक पनि डडेलधुरामा फेरि देउवासँग भिड्ने सागरको तयारी थियो । तर, देउवालाई गगन थापाले राजनीतिबाटै किनारा लगाइदिएपछि डडेलधुरामा देउवाले टिकट पाएनन् र सागरले पनि आफ्नो निर्वाचन क्षेत्र बदले ।
हिजो स्वतन्त्रको सुई बोकेका सागर अहिले रास्वपाको सांगठनिक बलसहित चुनावी मैदानमा छन् । डडेलधुरामा १३ हजार मत कटाउनु भनेको ‘सानो मुखले ठूलो कुरा’ मात्रै थिएन, त्यसलाई धेरैले परम्परागत राजनीतिको सातो खाएको भनेर अथ्याउने गरेका छन् । अहिले देशभर रास्वपाको लहर छ, गुल्मीमा पनि सागरले मतदातामाझ भिजिरहेकै छन् । तर नजिकको तीर्थ हेला भनेझैँ, गुल्मीकै माटोमा भिजेका ज्ञवाली र भण्डारी जस्ता निष्कलंक नेताका अगाडि सागरलाई ठूलो जोखिम हुन सक्ने देखिन्छ ।
चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सुदर्शन बराल पनि छन् । उनी जिल्लाकै राजनीतिमा भिजेका नेता भए पनि, ठूला र चर्चित अनुहारको बीचमा उनको चर्चा ‘हात्तीको मुखमा जिरा’ जस्तै भएको छ । कमजोर मत आधारले गर्दा उनी यसपटक मुख्य प्रतिस्पर्धाको रेसबाट अलि टाढा देखिएका छन् । एमालेका ज्ञवाली, कांग्रेसका भण्डारी र रास्वपाका ढकालको चर्चाले उनलाई ओझेलमा पारेको छ ।
गत निर्वाचनको अंकगणित हेर्ने हो, भने यो क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका भण्डारी निर्वाचित भए पनि समानुपातिकमा एमाले पहिलो दल बनेको थियो । यद्यपि, गुल्मी १ का मतदाताले यसपटक पनि अनुभवि र पुराना नेतालाई रोज्लान् कि नयाँ अनुहारलाई मौका दिएर सबैलाई सरप्रराइज देलान्? त्यो भने चुनावको अन्तिम नतिजाले नै देखाउँनेछ ।
Facebook Comments