रास्वपाको प्रचार प्रसारमा हिँडेको जिपको ठक्करबाट ४ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ फागुन १६ गते १६:४९
काठमाडौं । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा संलग्न जिपको ठक्करबाट चार जना घाइते भएका छन् ।
शनिबार दिउँसो बाग्दुलाबाट बिजुवारतर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको जिपले प्युठान नगरपालिका–७, चिउरी डाँडा नजिकै विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।
रास्वपाको झन्डा टाँगिएको उक्त जिपको ठक्करबाट मोटरसाइकल चालक २० वर्षीय जीवन विश्वकर्मा, पछाडि सवार २१ वर्षीय रेशम खड्का, स्कुटर चालक २६ वर्षीय दीपक पोखरेल र उनकी श्रीमती २५ वर्षीया सुजना भण्डारी घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर चोट लागेका विश्वकर्मा र खड्कालाई थप उपचारका लागि बुटवल पठाइएको छ, भने पोखरेललाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्कुटरमा सवार सुजना भण्डारी भने उपचारपछि डिस्चार्ज भएकी छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि भट्टराईका अनुसार तीव्र गतिमा रहेको जिपले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले जिप चालक नौबहिनी गाउँपालिका–६ का २५ वर्षीय किशन बुढा मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments