प्रतिवेदन सार्वजनिक गरेर छिट्टै सत्ता हस्तान्तरण गर्छौं : प्रधानमन्त्री सुशीला कार्की
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते २०:२९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएकी छिन्।
बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले नयाँ सरकारप्रति युवाको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै छिट्टै सत्ता हस्तान्तरण गर्ने तयारी रहेको बताइन्। “हामी चाँडै सत्ता हस्तान्तरण गर्छौं, किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्,” उनले भनिन्।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार यसपटकको निर्वाचनमा कुल मतदातामध्ये करिब ४० प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका युवा रहेका छन्।
प्रधानमन्त्री कार्कीले जाँचबुझ आयोगसहित विभिन्न बाँकी प्रतिवेदनहरू सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिइन्। “अब हामी प्रतिवेदन बुझ्छौँ र सार्वजनिक गर्ने प्रयास हुन्छ। यही अवधिमा हामी यी काम गर्नेछौँ,” उनले स्पष्ट पारिन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगको म्याद तेस्रो पटक थपिएको थियो र उक्त म्याद यही २७ फागुनमा सकिने बताइएको छ।
Facebook Comments