बझाङमा ५८ हजार ९ सय ४४ मत खस्यो, मतपेटिका सदरमुकाम ढुवानी कार्य तीव्र
डीबी विष्ट
|
२०८२ फागुन २१ गते २०:५९
बझाङ । बझाङ जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल ५८ हजार ९ सय ४४ मत खसेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खेगेन्द्र धमलाका अनुसार जिल्लामा रहेका कुल १ लाख २६ हजार ९ सय ३ मतदातामध्ये ३३ हजार ३ सय ९० महिला र २६ हजार ५ सय ५४ पुरुषले मतदान गरेका छन्। यससँगै जिल्लामा करिब ४६ प्रतिशत मतदान भएको जनाइएको छ।
जिल्लाका दुर्गम क्षेत्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याउने कार्य जारी रहेको छ। साईपाल गाउँपालिका वडा नम्बर १ र २ धलौन तथा वडा नम्बर ३ काँडाका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम पुर्याइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
यस्तै साईपाल गाउँपालिका–५ एर्याङकुरी र वडा नम्बर ४ धुलिमाका मतपेटिका भने भोलि बिहान हेलिकप्टरमार्फत ढुवानी गरिने जनाइएको छ। जिल्लाभरका अन्य मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम जारी रहेको प्रशासनले जनाएको छ।
मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन्। उनका अनुसार मतपेटिका ढुवानीका क्रममा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले स्कर्टिङ गर्दै सुरक्षा प्रदान गरिरहेका छन्।
यसपटकको निर्वाचन विगतका वर्षहरूको तुलनामा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा जयबहादुर विष्टका अनुसार विगतमा मतदान केन्द्रमा झैझगडा, लफडा तथा फर्जी मतदानजस्ता गतिविधि हुने गरे पनि यसपटक त्यस्ता घटना नदेखिएको बताए।
नागरिक समाजका अगुवा दीर्घराज उपाध्यायले पनि यसपटक मतदाताले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाएको उल्लेख गरे। उनका अनुसार अघिल्ला निर्वाचनमा देखिने धाँधली र अनियमितता यसपटक नदेखिएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अनुभूति स्थानीयले गरेका छन्।
Facebook Comments