समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा अग्रस्थानमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन २७ गते ०७:५९
Image of https://mayorsap.com/storage/photos/shares/dal.png

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।

पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको उक्त दल समानुपातिकतर्फ पनि सबैभन्दा अगाडि देखिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १४ लाख ४ हजार ३१ मत पाएको छ। चौथो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आठ लाख तीन हजार ६२७ मत प्राप्त गरेको छ।

त्यसैगरी पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले तीन लाख सात हजार ५७ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत ल्याउँदै थ्रेसहोल्ड कटाएको छ।

यसअघि राष्ट्रिय दल बनेका मधेशकेन्द्रित दलहरू भने यसपटक निकै पछि परेका छन्। जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत प्राप्त गरेको छ। यस्तै जनमत पार्टीले सात हजार ९४९ मत प्राप्त गरेको छ।

प्रत्यक्षतर्फको परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको अन्तिम नतिजा आउन केही मतगणना मात्रै बाँकी रहेको जनाइएको छ।


Facebook Comments