आगामी सातादेखि १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

विश्व बजारमा तेलको मूल्य अस्थिर

User Image मेयरसाप डेस्क | २०८२ फागुन २८ गते ०९:०९
Image of https://mayorsap.com/storage/photos/shares/ani-20260312025136-53949448.jpg

 काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।

अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।

यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४।८ प्रतिशत बढेर प्रतिव्यारेल ९१।९८ डलर पुगेको छ ।

यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ । 


Facebook Comments