सुरुनै नभइ सर्यो प्रतिनिधिसभा बैठक, सहमतिको प्रयास जारी
मेयरसाप डेस्क
|
२०८३ जेठ २४ गते १३:४४
काठमाडौं । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन् । दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् । ‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।
निर्धारित समय भन्दा दुई घण्टा ढिलो भए स्वतः बैठक स्थगित हुने कानुनी व्यवस्था छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । जसमा कार्यबोझलाई ध्यानमा राखी सभामुखले तोकेको दिन र समयमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने भनिएको छ । नियम ६ को उपनियम २ मा भनिएको छ, ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ ।’ सदनको अवरोध हटाउन रास्वपा सभापति रवि लामिछाने विपक्षीसँग संवादमा छन् ।
Facebook Comments