रविलाई आङ्देम्बेको प्रश्न– दिल्ली पुगेर कालापानीको नामसमेत लिनुभएन ?
मेयरसाप डेस्क
|
२०८३ जेठ २४ गते १७:१९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणमाथि प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा सीमा विवादजस्तो संवेदनशील विषयमा कुनै स्पष्ट धारणा नराखेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
आङ्देम्बेले नेपाल–भारत सीमा समस्या राष्ट्रिय हितसँग जोडिएको विषय भएकाले त्यसबारे मौन बस्नु उचित नहुने बताए । उनले विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विवादित क्षेत्रका विषयमा रविले भारतमा रहँदा कुनै कुरा नगरेको भन्दै प्रश्न गरे ।
उनले रवि लामिछानेले ‘सीमाको विषय ढोल बजाएर छलफल गर्ने कुरा होइन’ भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । सीमा समस्यालाई प्रचारबाजीको विषय नबनाइनुपर्ने कुरामा आफू पनि सहमत रहेको बताउँदै उनले त्यसको अर्थ विषय नै नउठाउने भन्ने नहुने जिकिर गरे ।
‘दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ समेत उच्चारण नगरी किन फर्किनुभयो ?’ आङ्देम्बेको प्रश्न थियो, ‘हामीलाई पनि थाहा छ यस्ता विषय ढोल बजाएर हल हुँदैनन् । यसका आफ्नै कूटनीतिक मापदण्ड र प्रक्रिया हुन्छन् । तर राष्ट्रिय सरोकारका विषयमा आफ्नो धारणा राख्न पर्छ ।’
उनले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल आवश्यक भए पनि राष्ट्रिय मुद्दामा स्पष्ट अडान देखिनुपर्ने बताए । भारत भ्रमणका क्रममा सीमा विषयमा कुनै उल्लेख नगरेर फर्किनु जनतामा थप प्रश्न उठाउने विषय भएको उनको भनाइ थियो ।
Facebook Comments