सनातन राज्यको कुरा उठाएकै कारण ज्यान मार्ने धम्की ?

User Image मेयरसाप डेस्क | २०८३ जेठ २४ गते १७:२४
Image of https://mayorsap.com/storage/photos/shares/photo-00bdf608.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा सनातन राज्यको पक्षमा आवाज उठाएपछि आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने तथा आक्रमण गर्ने धम्की आएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमार्फत निरन्तर धम्की र दुव्र्यवहार भइरहेको दाबी गरिन् । नेपाललाई सनातन राज्य घोषणा गर्नुपर्ने आफ्नो धारणा संसद्मा राखेपछि योजनाबद्ध रूपमा आफूविरुद्ध धम्कीपूर्ण गतिविधि बढेको उनको भनाइ थियो ।

‘नेपाल सनातन राज्य हुनुपर्छ भनेर मैले यस सदनमा कुरा उठाएदेखि अहिलेसम्म सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने र आक्रमण गर्ने धम्की आइरहेको छ,’ ओलीले भनिन् ।

उनले यस्ता धम्की आफू व्यक्तिमाथि मात्र नभई सनातन धर्ममा आस्था राख्ने समुदायप्रतिको असहिष्णुताको संकेत भएको टिप्पणी गरिन् । धम्की दिने व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराइन् ।

ओलीले नेपालमा आर्थिक अभाव र गरिबीको फाइदा उठाएर धर्म परिवर्तन गराउने गतिविधि भइरहेको दाबी गर्दै यस विषयमा पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने बताइन् । धार्मिक स्वतन्त्रताको नाममा कमजोर आर्थिक अवस्थाका नागरिकलाई प्रलोभनमा पार्ने कार्य रोक्न आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो ।


Facebook Comments