प्रधानमन्त्रीकै अभिव्यक्तिबाट राष्ट्रिय संकट सुरु भयो : नेता थापा

User Image मेयरसाप डेस्क | २०८३ जेठ २४ गते १७:२७
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_24.jpg

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश अहिले गम्भीर राष्ट्रिय संकटको अवस्थामा पुगेको दाबी गर्दै त्यसको मुख्य कारण प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध हुनु र सदनभित्र निरन्तर टकरावको अवस्था सिर्जना हुनु सामान्य घटना नभएको बताए । संकटको वास्तविक स्रोत पहिचान नगरी समाधान खोज्न नसकिने उनको भनाइ थियो ।

“देश अहिले गम्भीर राष्ट्रिय संकटको भुमरीमा फसेको छ । यो संकट किन आयो, कसरी आयो र यसको स्रोत के हो भन्ने कुरा पहिला स्पष्ट हुनुपर्छ,” उनले भने, “समस्या कहाँबाट सुरु भयो भन्ने यकिन नगरी निकास निकाल्न सकिँदैन ।”

थापाले एमालेले वर्तमान राजनीतिक संकटको जरो दुई प्रमुख घटनामा देखेको बताउँदै पहिलो कारण प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्ति भएको दाबी गरे ।

उनका अनुसार प्रधानमन्त्रीले संसद्मा ‘नेपालले भारतको धेरै भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय बहस र विवाद चर्किएको थियो । “यही घोषणा र यही अभिव्यक्तिबाट अहिलेको संकट सुरु भएको हाम्रो निष्कर्ष छ,” थापाले भने ।

उनले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिको भारत भ्रमणको अघिल्लो दिन संसद्मा आएर दिइएको भन्दै त्यसले थप राजनीतिक र कूटनीतिक प्रश्नहरू जन्माएको उल्लेख गरे ।

थापाले राष्ट्रिय महत्वका विषयमा गरिने अभिव्यक्तिले देशको कूटनीतिक स्थिति र राष्ट्रिय हितमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनले अहिले देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न पनि संकटको वास्तविक कारण र पृष्ठभूमिबारे खुला छलफल हुनुपर्ने धारणा राखे ।


Facebook Comments