श्रम संस्कृति पार्टीको संसद्मा विरोध, वेल घेराउ गर्दै नाराबाजी

User Image मेयरसाप डेस्क | २०८३ जेठ २४ गते १७:३२
Image of https://mayorsap.com/storage/photos/shares/harka-bel-gherau-1024x500.png

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने अवसर नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्को वेल घेराउ गर्दै विरोध जनाएका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा राखेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी तथा अन्य दलका नेताहरूले आफ्नो–आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका सांसद प्रमेश हमाल तथा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बोल्ने अवसर पाएका थिए ।

तर, श्रम संस्कृति पार्टीका सांसदहरूलाई भने समय नदिइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले बोल्ने सूचीमा श्रम संस्कृति पार्टीको नाम नरहेको जनाउँदै समय नदिएपछि उक्त पार्टीका सांसदहरू आक्रोशित बनेका हुन् ।

लगत्तै उनीहरू उठेर संसद्को वेलमा पुगेका थिए र नाराबाजीसहित विरोध प्रदर्शन सुरु गरेका थिए। साना दलको आवाज दबाउन खोजिएको र संसद्मा समान अवसर नदिइएको उनीहरूको गुनासो छ ।

श्रम संस्कृति पार्टीका सांसदहरूको विरोध जारी रहे पनि सभामुख अर्यालले बैठक सञ्चालन भने रोकेनन् । वेल घेराउ र नाराबाजीबीच संसद्को कार्यसूची अगाडि बढाइएको थियो ।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा पहिले नै तनावपूर्ण अवस्था रहेका बेला श्रम संस्कृति पार्टीको विरोधले संसद्को माहोल थप तातिएको छ ।


Facebook Comments