ज्ञानेन्द्रको प्रश्न– भूमि फिर्ता देऊ भनियो भने कुन जमिन दिने ?

User Image मेयरसाप डेस्क | २०८३ जेठ २४ गते १७:३९
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design-1_2.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सीमासम्बन्धी विषयलाई राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएको अत्यन्त संवेदनशील मुद्दा भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सीमा विवाद कुनै एउटा दल, सरकार वा प्रतिपक्षको मात्र विषय नभई सम्पूर्ण संसद् र देशको साझा सरोकारको मुद्दा भएको बताए। उनले प्रधानमन्त्रीबाट आएको सीमासम्बन्धी अभिव्यक्तिप्रति समयमै संसद्ले गम्भीर प्रश्न उठाउन नसकेको टिप्पणी गरे ।

शाहीले देशको बहालवाला प्रधानमन्त्रीले नेपालले पनि अर्को देशको भूमि अतिक्रमण गरेको आशय व्यक्त गरेपछि त्यसबारे तत्काल स्पष्टता खोजिनुपर्ने बताए । उनका अनुसार यस्तो विषय सामान्य राजनीतिक बहसको विषय नभई राष्ट्रिय जिम्मेवारीसँग जोडिएको प्रश्न हो ।

उनले भविष्यमा कुनै पनि सरकारले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आधार बनाएर नेपालले मिचेको भनिएको भूमि फिर्ता दिनुपर्ने अवस्था सिर्जना भए त्यसबेला कुन भूभाग फिर्ता दिने भन्ने गम्भीर प्रश्न उठ्ने बताए ।

‘आजको विषय केवल वर्तमान प्रधानमन्त्रीको अभिव्यक्तिसँग मात्र जोडिएको छैन,’ शाहीले भने, ‘भोलि अर्को प्रधानमन्त्री आएर नेपालले मिचेको भूमि फिर्ता दिनुपर्छ भन्यो भने कुन जमिन दिने भन्ने प्रश्न उठ्छ। त्यसैले सीमा सम्बन्धी विषयमा संसद् गम्भीर बन्नुपर्छ।’

उनले संसद् राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा र निष्कर्ष निकाल्ने थलो भएकाले सीमा, राष्ट्रियता र भूगोलसँग जोडिएका विषयमा खुला र जिम्मेवार छलफल हुनुपर्ने धारणा राखे ।

शाहीले राष्ट्रभन्दा माथि कुनै पनि दल, विचार वा व्यक्ति हुन नसक्ने उल्लेख गर्दै विभिन्न राजनीतिक आस्था, पेशा र वर्गमा आबद्ध भए पनि सबै नेपालीलाई जोड्ने साझा आधार नेपालको भूमि र राष्ट्रिय पहिचान नै भएको बताए ।


Facebook Comments