रास्वपा उम्मेदवारको नाम सूचीमा विवादः संस्थापन निकटनै असन्तुष्ट, बालेन निकटकालाई जिताउन चलखेल गरेको आरोप
मेयरसाप डेस्क
|
२०८३ असार ८ गते ११:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहँदा उम्मेदवारहरु असन्तुष्ट देखिएका छन् । असन्तुष्टिको मुख्य कारण हो—मतपत्रमा उम्मेदवारहरूको नामको क्रम।
उम्मेदवारहरूको नाम न उम्मेदवारी दर्ताको क्रमअनुसार राखिएको छ, न त वर्णानुक्रम अर्थात् अल्फाबेटिक अर्डरमा। यही विषयलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ। पार्टीका जिम्मेवार नेताहरूले नै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
असन्तुष्ट एक उम्मेदवारले शीर्ष नेतृत्वले हरेक क्लष्टरबाट जिताउन चाहेका मान्छेको नाम अघिल्लो क्रम संख्यामा समावेश गरिएको दावी गरेका छन्। उनका अनुसार, वरिष्ठ नेता बालेन शाह पक्षका केही उम्मेदवार प्रतिनिधिबीच कम परिचित भएकाले उनीहरूलाई जिताउन नामको क्रम मिलाइएको आशंका छ।
अधिवक्ता समेत रहेका संस्थापन निकट नेता यज्ञमणि न्यौपानेले सामाजिक सञ्जालमार्फत शुरूमै उम्मेदवारी दर्ता गरेको, तर आफ्नो नाम ४२ नम्बरमा भएको जानकारी गराएका छन् । नेता गणेश कार्कीले आफ्नो नाम ‘जालझेल’ भएर १३३ मा पुगेको बताएका छन् । उनले प्रश्न गरेका छन्– ‘खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?’
सभापति लामिछाने निकटका नेता दीपक बोहराले फेसबुकमा लेख्दै खुलातर्फ उम्मेदवारी दर्ता गराएको तर, सुदूरपश्चिम भूगोलबाट मतपत्रमा नाम आएको बताएका छन् । नेतृ आशिका तामाङले पनि ३७ नम्बरमा नाम दर्ता गरेको तर १०६ नम्बरमा परेको गुनासो गरेकी छन् ।
Facebook Comments