होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई ताकेता, २५ हजार लोभ देखाएर लखेटिँदै

किन खाली गराउन खोजियो होल्डिङ सेन्टर?

User Image मेयरसाप डेस्क | २०८३ असार ८ गते १३:५१
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-06-25-134951.png

काठमाडौं । काठमाडौंको नदी किनारबाट हटाइएका सुकुमबासी तथा भूमिहीनहरूमाथि फेरि संकट आइलागेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न भन्दै अल्टिमेटम दिएको छ । समितिले सोमबार सूचना टाँस गर्दै आगामी शुक्रबारभित्र आफैँ व्यवस्थापन गरेर होल्डिङ सेन्टर खाली गर्न ताकेता गरेपछि त्यहाँ बस्दै आएका सयौँ परिवार अलमल र चिन्तामा परेका छन् ।

किन खाली गराउन खोजियो होल्डिङ सेन्टर?
होल्डिङ सेन्टरमा लामो समयसम्म मानिसहरूलाई राख्दा उनीहरूको दैनिक जीवन निकै भद्रगोल बनेको छ । त्यहाँ बस्नेहरूले राम्रोसँग काममा जान नपाएको र अस्तव्यस्त जीवन बिताउनु परेकाले यो कदम चालिएको बुझिएको छ । यसको अर्को कारण सुरक्षा संवेदनशीलता पनि हो । नेपालमा मनसुन सुरु भइसकेको छ । कीर्तिपुरको होल्डिङ सेन्टर खोला किनारकै छेउमा रहेकाले वर्षायाममा बाढी र डुबानको ठुलो जोखिम रहन्छ । यस्तो मानवीय सङ्कट र जोखिम आउन नदिन वर्षायाम अगावै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा पठाउन ५ दिने अल्टिमेटम दिनुपरेको बताइन्छ ।

समितिले सुकुमबासीहरूलाई विस्थापित मात्र गर्न नलागेको दाबी गर्दै सरकारको राहत तथा पुनस्र्थापना प्याकेज पनि अघि सारेको छ । प्याकेजमा होल्डिङ सेन्टरभित्र र बाहिर रहेका विस्थापितहरूलाई नयाँ कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनस्र्थापना खर्च दिइनेछ । यो बजेट चालू आर्थिक वर्षको असार १५ देखि २० गतेभित्रै वितरण गरिसक्नुपर्ने कानुनी बाध्यता पनि छ ।

वास्तविक सुकुमबासी र घरबारविहीन भएको प्रमाणित भएका परिवारलाई छुट्टै कोठा भाडामा लिनका लागि मासिक १५ हजार रुपैयाँका दरले भाडा सहयोग उपलब्ध गराइनेछ । यो रकम राष्ट्रिय भूमि आयोगले उनीहरूको स्थायी व्यवस्थापनको टुङ्गो नलगाएसम्म निरन्तर प्रदान गरिने व्यवस्था छ ।

हाल काठमाडौं उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन्, तर, अहिलेसम्म कसैले पनि राहत रकम बुझेका छैनन् । राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । पीडित परिवारले आफ्नो बैंक खाता नम्बरसहित निवेदन बुझाउनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ ।

यता सरकारले ५ दिनको समय दिएर २५ हजार रुपैयाँ थमाउँदै सेन्टर छाड्न भनेपछि कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका भूमिहीन र सुकुमबासीहरूले ५ बुँदे मागहरु सार्वजनिक गरेका छन् ।

उनीहरूले आफूहरूको स्थायी व्यवस्थापन गरिदिन सरकारलाई अनुरोध गरेका छन् । सुकुम्बासीहरूले विकल्प र बस्ने ठाउँ नदिईकन होल्डिङ सेन्टरबाट बाहिर निकालेमा आफूहरूसँग जाने ठाउँ कतै पनि नभएको गुनासो गरेका छन् । यदि सरकारले जबरजस्ती गरेमा आफूहरू फेरि पुरानै नदी किनारको ठाउँमा फर्किएर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् । तथापि, विकल्पविहीन बनेका सुकुमबासी परिवार भने बर्खाको समयमा साना बालकालिका र वृद्धवृद्धा लिएर कहाँ जाने भन्ने पिरलोमा परेका छन् ।


Facebook Comments