वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

User Image मेयरसाप डेस्क | २०८३ असार १० गते ११:५६
Image of https://mayorsap.com/storage/photos/shares/581e2412-af45-46d1-81b4-4377b2bbb553-4ada5d6e.png

काठमाडौं । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।

गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि हालसम्म १ लाख ५६ हजार ५८३.६७ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ ।

गत वर्षको तुलनामा भने लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा धान रोपाइँको गति सुस्त भएको तथ्यांकले देखाएको छ । गत वर्ष यही अवधिमा लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । त्यसबेला कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत तथा सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कृषि क्षेत्रका जानकारहरूले पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताएका छन् । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार पानी नपरेकाले खेतमा पर्याप्त चिस्यान नहुँदा किसानले रोपाइँलाई तीव्रता दिन नसकेको उनीहरूको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ । यो यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको ६९.६ प्रतिशत मात्रै हो । औसतभन्दा कम वर्षा भएकाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको निष्कर्ष छ । धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ । कृषिविज्ञहरूले आगामी दिनमा पर्याप्त वर्षा भए रोपाइँको गति बढ्ने अपेक्षा गरेका छन् ।


Facebook Comments