९ वर्ष कारागार बसेर फर्केका कांग्रेसका नेता अभिषेक गिरी फेरि पक्राउ
कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप
मेयरसाप डेस्क
|
२०८३ असार १० गते १३:३८
विराटनगर। विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।
शंकास्पद बस्तु (अवैध हतियार)लुकाएको आशंकामा शनिबार बिहान प्रहरी टोली गिरीको घरमा छापा मार्न पुगेको थियो । यद्यपि, हतियार भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ ।
शंकास्पद बस्तु नभेटिएपछि प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो ।
गिरी यसअघि पनि पटक–पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा ९ वर्ष कारागारभित्र रहँदासमेत उनले पटक–पटक विवाद गरेका थिए ।
कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप छ । अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।
Facebook Comments