प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले एकै दिन दिए राजीनामा
बालेन सरकार बनेपछि हजारौंले छाडे सरकारी जागिर
मेयरसाप डेस्क
|
२०८३ साउन २७ गते १३:४१
वालेन्द्र शाह नेतृत्वको दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ। सचिवदेखि खरिदारसम्मका कर्मचारीले धमाधम राजीनामा दिन थालेपछि प्रशासनभित्रै तरंग पैदा भएको छ।
मंगलबार मात्रै दुई जना सचिवले राजीनामा दिए। सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा बुझाएका हुन्।
दुवैको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको स्रोतको दाबी छ। तर, यीमध्ये पोखरेलको राजीनामाले भने अझ बढी चर्चा पाएको छ। साउन १३ गते मात्रै सञ्चार मन्त्रालयमा सरुवा भएका उनले दुई सातामै पदबाट राजीनामा दिएका हुन्। जबकि उनको सेवाअवधि अझै एक वर्षभन्दा बढी बाँकी थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि उनी असन्तुष्ट रहेको बताइएको छ। अर्का सचिव बाबुराम अधिकारी भने भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए।
कर्मचारीले राजीनामा दिनुको अर्को कारण सरकारको प्रस्तावित निजामती सेवा नीति पनि मानिएको छ। सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था अघि बढाउन खोजेको छ।
यहीबीच राष्ट्रिय किताबखानाको तथ्यांकले अहिलेसम्म करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिवसहित ठूलो संख्यामा अधिकृत र तल्लो तहका कर्मचारीले राजीनामा दिइसकेको देखाएको छ।
Facebook Comments