सगरमाथामा दुई हेलिकोप्टर जुधे, के भयाे क्षति ?
मेयरसाप डेस्क
|
२०८३ कात्तिक १७ गते ०९:५५
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा दुई हेलिकोप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा फिस्टेल एयर र एयर डायनेस्टीका हेलिकोप्टरका पंखा जुध्दा दुर्घटना भएको हो।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले घटनामा एक विदेशी नागरिकको मृत्यु र एक जना घाइते भएको पुष्टि गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुवै हेलिकोप्टर अवतरण गर्ने क्रममा पंखा एकापसमा ठोक्किएका थिए। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
सगरमाथा क्षेत्रमा पर्यटक तथा उद्धार उडानका लागि हेलिकोप्टरको आवागमन भइरहने फेरिचे हेलिप्याडमै भएको यो दुर्घटनाबारे प्राधिकरणले थप विवरण संकलन र अनुसन्धान अघि बढाउने जनाएको छ।
Facebook Comments