तीनपाटन फेरि विवादमाः स्वास्थ्य शाखा हाँक्न फेरि कांग्रेसनिकट कर्मचारीलाई जिम्मेवारी ! मिचियो वरिष्ठता
मेयरसाप डेस्क
|
२०८३ कात्तिक १७ गते १४:५०
सिन्धुली । तीनपाटन गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा बेथिति सुधार्नुपर्ने दबाब बढिरहेका बेला गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले फेरि विवादको घेरामा पर्ने निर्णय गरेका छन्। पालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी जनस्वास्थ्य निरीक्षक पवित्रा वि.क.लाई दिइएको छ। उनीभन्दा बरिष्ठ अरु तीन कर्मचारी मदनविक्रम दाहाल, इन्द्र दुलाल र मोहन दाहल पनि पालिकामै कार्यरत छन् । तर पालिका अध्यक्ष कर्णबहादुर थापा मगरले आफूलाई अनुकूल हुने गरी जनस्वास्थ्य निरीक्षक पवित्रा वि.क.लाई जिम्मेवारी थमाएका छन् । यो नियुक्तिसँगै वरिष्ठता, राजनीतिक निकटता र पुराना आरोपमाथिको कारबाहीको प्रश्न फेरि उठेको छ।
स्रोतका अनुसार सुरुमा अध्यक्ष थापाले वरिष्ठ जनस्वास्थ्य निरीक्षक मोहन दाहाललाई स्वास्थ्य शाखाको जिम्मेवारी दिने तयारी थालेका थिए । तर उनी मितेरी साइनो पर्ने व्यक्ति भएको भन्दै विरोध भएपछि अध्यक्ष थापा पछि हटेका थिए । उनी प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत छन् । यसअघि नै उनी विवादमा तानिएका व्यक्ति हुन् । मेयरसाप डटकमले उनले उक्त स्वास्थ्य संस्थामा आएको औषधि निजी मेडिकलमा लगेर बेचेको समाचार सार्वजनिक गरेको थियो ।
मितसमेत रहेका मोहन दाहाललाई स्वास्थ्य शाखा प्रमुख बनाउन नहुने दवाव आएपछि अध्यक्ष कर्णबहादुरले प्रमुख प्रशासकीय अधिकृत मनोज साहमार्फत वरिष्ठ जनस्वास्थ्य निरीक्षक मदनविक्रम दाहाललाई शाखा प्रमुखको जिम्मेवारी लिनु भन्ने सन्देश पठाएका थिए । जिम्मेवारी लिन मदनविक्रम दाहाल तयारी अवस्थामा थिए । तर मदनविक्रम दाहालले आफूले भनेअनुकूल काम नगर्ने निष्कर्षमा पुगेका कर्णबहादुरले अन्ततः कांग्रेसकै एक नेताकी श्रीमतीलाई शाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । कर्णबहादुरको यो निर्णयमा कांग्रेसबाहेक अरु पार्टीका जनप्रतिनिधिले असन्तुिष्ट जनाएका छन् ।
गाउँ कार्यपालिकाको कात्तिक १२ गतेको निर्णयअनुसार पवित्रालाई अर्को व्यवस्था नभएसम्मका लागि जनस्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिइएको हो। उनी यसअघि लाम्पनटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अर्थात् तीनपाटन नगर अस्पतालमा कार्यरत थिइन्। पवित्राका श्रीमान् नेपाली कांग्रेस आवद्ध व्यक्ति हुन् ।
अर्कोतर्फ, यसअघि स्वास्थ्य शाखा प्रमुख रहेका रामबेचन साहमाथि औषधि खरिद तथा वितरणमा गम्भीर लापरबाही गरेको छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा नलगेको भनेर अध्यक्ष थापामाथि गम्भीर आरोप लागेको छ । यस विषयमा अख्तियारमा मुद्धा समेत परेको छ। राष्ट्रिय औषधि प्रयोगशालाले गुणस्तरहीन ठहर गरेको एग्लोसेफ इन्जेक्सन बिरामीको उपचारमा प्रयोग भएको, औषधिका ब्याच नम्बर नमिलेको र ५० प्रतिशत औषधिको म्याद खरिद सर्तअनुसार १८ महिनाभन्दा कम रहेको छानबिन प्रतिवेदनले औंल्याएपछि साहमाथि कार्वाही गर्न माग उठिरहेको छ । समितिले साहमाथि विभागीय कारबाही र स्पष्टीकरण लिन सिफारिससमेत गरेको छ। तर कर्णबहादुरले स्वास्थ्य क्षेत्रको बेथितिको छानबिन रोक्न सक्रिय भएर लागेका छन् ।
अहिलेसम्म कसैलाई पनि कारबाहीको निर्णय भएको छैन। उल्टै साहलाई लाम्पनटारस्थित तीनपाटन नगर अस्पतालमा जिम्मेवारी दिने तयारी भइरहेको स्रोतको दाबी छ। अहिले स्वास्थ्य शाखा प्रमुख भएकै व्यक्तिको अस्पतालको जिम्मेवारीमा साहलाई राख्ने तयारी भएको मेयरसाप डटकमले जानकारी पाएको छ । यसअघि स्वास्थ्यकर्मीहरूले तीन वर्षदेखि सुत्केरी स्याहारबापतको भत्ता नपाएको, कमसल औषधि वितरण भएको, स्वास्थ्य सामग्री खरिद पारदर्शी नभएको र प्रश्न उठाउने कर्मचारीलाई पटक–पटक सरुवा गरेर दुःख दिएको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए । उनीहरुले पालिका अध्यक्षलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए। पालिकाको बेथितिविरुद्ध आवाज उठाउने स्वास्थ्यका कर्मचारीलाई एक महिनामै दुई पटकसम्म सरुवा भएको दाबीसमेत गरिएको थियो। मेयरसाप डटकमले अध्यक्ष कर्णबहादुरले मच्याएका बेथितिविरुद्ध निरन्तर समाचार सार्वजनिक गर्दै आएको छ । तत्कालीन स्वास्थ्य शाखा प्रमुख रामबेचन साहलाई जिम्मेवारीबाट हटाउने काम पनि मेयरसाप डटकमले समाचार सार्वजनिक गरेपछि भएको हो ।
भिडियाे
Facebook Comments