संघीय मामिला मन्त्रालयद्वारा स्थानीय तहको स्वमूल्यांकनमा उत्कृष्ट पालिकालाई सम्मान गर्ने तयारी
No Author Assigned | १० महिना अगाडि
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा सर्वोत्कृष्ट अंक ल्याउने गाउँपालिका र नगरपालिकालाई सम्मान गर्ने भएको छ। आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकन नतिजामा उत्कृष्ट हुने पालिकाहरूलाई आगामी बिहीबार, भदौ ६ गते भव्य कार्यक्रमबीच सम्मान गरिनेछ।
मन्त्रालयले स्थानीय तहले गरेको स्वमूल्यांकनलाई गुणस्तर परीक्षण गरेर ३ उत्कृष्ट गाउँपालिका र ३ उत्कृष्ट नगरपालिकाको चयन गरिसकेको छ। सम्मानित हुने पालिकाको घोषणा भने कार्यक्रमकै दिन सार्वजनिक गरिनेछ।
स्थानीय तहहरूको संस्थागत क्षमतामा विगतको तुलनामा सुधार आएको मन्त्रालयले जनाएको छ। तर, क्षिरेश्वरनाथ नगरपालिका, राप्ती नगरपालिका, हेलम्बु गाउँपालिका र विष्णुपुर गाउँपालिका भने स्वमूल्यांकनमा सहभागी नभएका कारण सम्मानको दौडमा अयोग्य ठहरिएका छन्।
स्थानीय तहले आफैँले आफ्नो कार्यप्रक्रिया र उपलव्धिको समीक्षा गर्ने, शासकीय प्रक्रिया सुधार्नुपर्ने क्षेत्र पहिचान गर्ने र स्वस्थ्य प्रतिस्पर्धा सिर्जना गर्ने उद्देश्यले स्वमूल्यांकन प्रक्रिया गराउँदै आएको मन्त्रालयले जानकारी दिएको छ।