चुमनुब्री गाउँपालिकाले मनास्लुका पर्यटकसँग शुल्क उठाउने
No Author Assigned | ९ महिना अगाडि
गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने निर्णय गरेको छ।
गाउँपालिकाको आर्थिक ऐन ०८१ अनुसार, अब विदेशी पर्यटकले प्रति व्यक्ति १ हजार रुपैयाँ र नेपाली पर्यटकले २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
यो निर्णय भदौ २० गते जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँगको छलफलपछि गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।
एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धित संरक्षण तथा निकुञ्ज ऐन अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष र अध्यागमन विभागले शुल्क उठाउँदै आए पनि गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रबाट शुल्क संकलन गर्न नसकेको बताएको छ। कोषले उठाएको शुल्क पनि गाउँपालिकासँग बाँडफाँट नगरेको गुनासो गरिएको छ।
उठाइएको पदयात्रा शुल्कबाट चुमनुब्री गाउँपालिका तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा लगानी गरिने गाउँपालिकाले सूचनामार्फत स्पष्ट पारेको छ।