थामेमा बाढीपछिको पीडा: ४० परिवार २६ दिनदेखि घरबारविहीन, पुर्नस्थापनामा समस्या
No Author Assigned | ९ महिना अगाडि
सोलुखुम्बुको खुम्बु पासाङल्हाम्हामु गाउँपालिकाको थामेमा हिमपहिरोपछि आएको बाढीका कारण ४० घरपरिवार २६ दिनदेखि घरवारबिहीन बनेका छन्।
गत साउन ३२ गते हिमताल फुटेर आएको लेदो मिसिएको बाढीले पालिकाको थामे क्षेत्रमा ३८ घर र टोकटोक क्षेत्रका २ घर पूर्ण रूपमा ध्वस्त बनाएका थिए, भने टोकटोकका २ अन्य घर अहिले पनि जोखिममा छन्।
गाउँपालिका अध्यक्ष मिग्मा छिरि शेर्पाका अनुसार, विस्थापित परिवारहरू हाल आफन्तको घरमा शरण लिइरहेका छन्। बाढी प्रभावित क्षेत्रमा पुनः घर निर्माण असम्भव भएकोले नयाँ स्थान खोज्न प्रयास भइरहेको छ।
तर, विपद व्यवस्थापन जोखिम न्यूनिकरण समितिले पुर्नस्थापना र स्थलगत निरीक्षणमा चासो नदेखाउँदा समस्या भइरहेको अध्यक्ष शेर्पाले बताए। समितिका सिइओ विदामा रहेका कारण अवलोकन पछि मात्र अन्तिम निर्णय लिइनेछ।
पीडितहरूलाई राहतस्वरूप पालिकाले प्रति परिवार ५० हजार रुपैयाँ वितरण गरेको छ, र विभिन्न संघसंस्थाहरूले पनि सहयोग गरेका छन्। हालसम्म पालिकाले स्थापना गरेको विपद कोषमा ६५ लाख रुपैयाँ संकलित भएको छ।