अमेरिकी माेहले वडाअध्यक्षलाई तान्याे: नौ महिनाअघि उडेका वडाध्यक्ष न राजीनामा दिन्छन्, न फर्किन्छन्
सेवाग्राहीलाई सेवा लिन समस्या भएपछि वडामा लगाइयाे ताला
Mayorsap
बिही, कार्तिक ८, २०८१ | ११:१० बजे
खोटाङ, कात्तिक ८: अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो ।
यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले बताउनुभयो । वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।
वडा अध्यक्ष गाउँ नफर्किएपछि काम गर्न असहज भएको छ । पालिकाले वडा सदस्य भीमबहादुर खड्कालाई तीन पटकसम्म कार्यवाहक तोकेर काम गराए पनि पटक पटक कार्यवाहक तोक्नुपर्दा समस्या भएको भन्दै स्थानीयवासी र त्यहँका राजनीतिक दलका नेतृत्वले वडा कार्यालयमै ताला लगाएका हुन् । ‘गत साउन २१ गतेको सर्वदलीय बैठकले १५ दिनभित्र वडाध्यक्ष वडामा उपस्थित हुनु पर्ने वा मार्गप्रशस्त गर्नु पर्ने माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं,’ पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भन्नुभयो, ‘त्यसपछि गाउँकार्यपालिकाको बैठकले वडा सदस्य भीमबहादुर खड्कालाई कार्यबाहक तोकेर वडाको काम भएको थियो, त्यो पनि असोज २० गते अवधि सकिएपछि हामीले वडामा ताला लगाउनुका साथै सर्वदलीय र सर्वपक्षीय बैठकको प्रतिलिपिसहित गाउँपालिकालाई दिएका हौं ।’
तयसअघि पनि साउन २१ गते गाउँपालिकालगायत जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयमा उहाँहरुले ज्ञापनपत्र बुझाउनुभएकबो थियो ।
वडाध्यक्ष कटवालले ज्येष्ठ वडासदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १० गते कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका जानुभएको थियो । त्यसपछि अहिलेसम्म उहाँ फर्कनुभएको छैन । कार्यवाहकको भरमा वडा चलाउँदा नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएका कार्यवाहक वडाध्यक्षले दिएको सिफारिस मान्य नहुने भन्दै फर्काइदिएपछि स्थानीय नागरिकहरु पीडित भएको पूर्ववडाअध्यक्ष भट्टराईले बताउनुभयो । उता कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लिन नमान्दा पनि समस्या भएको छ । कार्यवाहकले सबै काम गर्न पाउने गरी जिम्मेवारी वडा अध्यक्षले निदएपछि समस्या भएकाे र गाउँसभाबाट सबै काम गर्ने गरी कार्यवाहक ताेकेपछि समस्या नभएकाे पालिका अध्यक्ष रबी प्रकाश राईले जानकारी दिनुभयाे ।
अध्यक्ष राईले माओवादीले नै वडा अध्यक्षकाे विषयमा कारबाही गरिदिए काम गर्न सहज हुने अपेक्षा गरेकाे जानकारी गराउनु भयाे । माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षकाे विषयमा पार्टीकाे सल्लाहअनुसार काम गरेकाे र पार्टीले दसैँसम्म पर्खिदिनुस् भनेका कारण अहिलेसम्म समस्या नभएकाे र दसैँमा पनि वडा अध्यक्ष घर नफर्किएपछि केही राजनीतिक दलका कार्यकर्ताले वडा कार्यालयमा ताला लगाएकाे अध्यक्षले जानकारी दिनुभयाे ।
पालिका अध्यक्षका अनुसार वडा अध्यक्षकी छाेरी अमेरिकामा भएकाले वडा अध्यक्ष फर्किने सम्भावना कम छ । उहाँ यसअघि पनि अमेरिका जानुभएकाे र केही महिनापछि फर्किनुभएकाे थियाे । अर्का वडा अध्यक्ष चयन गर्नका लागि वडा अध्यक्षले कि राजीनामा बुझाउनुपर्ने, कि पार्टीले कारबाही गर्नु पर्ने वा त हराएकाे पुष्टि हुनुपर्नेछ । अन्यथा वडा अध्यक्षलाई कारबाही गर्ने कुनै आधार देखिँदैन ।
२०८१ वैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी लिएपछि वडा सदस्य खड्काले वडा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लिन मान्नुभएको थिएन् । तर ०८१ साउन १७ गतेको गाउँकार्यपालिकाको बैठकले खड्कालाई नै ०८१ साउन १८ गतेदेखि साउन ३२ गतेसम्म, ०८१ भदौ ४ गतेको कार्यपालिकाको बैठकले भदौ २० गतेसम्म र त्यसपछि फेरि ०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले असोज २० गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवरी दिएको थियो ।