काठमाडौं महानगरले एमालेलाई तोक्यो एक लाख रुपैयाँ जरिवाना
फोहोर गरेको कसूर
Mayorsap
शुक्र, मंसिर ७, २०८१ | २१:१९ बजे
काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई फोहोर गरेको कसूरमा जरिवाना तोकेको छ।
शुक्रबार काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना तोकेको हो।
महानगरले एक पत्र पठाउँदै नेकपा एमाले पार्टी कार्यालयलाई फोहोर गरेको कसूरमा एक लाख रुपैयाँ तिर्न भनेको छ । प्रेसित पत्रमा भनिएको छ, मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौमा जागरण सभा गरेको थियो।