जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहने विषयमा काफ्लेले हारिन् मुद्दा
नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो
Mayorsap
सोम, मंसिर १०, २०८१ | ११:३१ बजे
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै सर्वोेच्च अदालतले खारेज गरिदिएको हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही साउन ३ गते काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो ।
उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै सर्वोेच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।
सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भाद्र २७ गते पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन ।
सो रिटको सुनवाई गदै रिटमा माग दाबी नपुगेको भन्दै सर्वोेच्च अदालतले खारेज गरिदिएको हो । दुबै रिट फुयाल र ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।
सर्वोच्चले रिट खारेज गरेपछि जीतपुर सिमरामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बाटो खुलेको छ भने उर्मिला काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिबको दरबन्दीमा पठाउने निर्णय गरेकोले पुनः भारतीलाई पठाउने तयारी भइरहेको संघीय मामिला मन्त्रालयले जनाएकाे छ ।
प्रचण्ड प्रधानमन्त्रीबाट हटेसँगै प्रधानमन्त्री ओलीकाे क्याबिनेट बनेपछि उपप्रमुख भोला प्रसाद अधिकारीसहित केही एमाले वडाध्यक्षहरूले बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पुगेर काफ्लेको सरुवा निर्णय गराएर नयाँ प्रशासकीय प्रमुखको रूपमा चेतकुमार पोखरेललाई ल्याउने निर्णय गराएका थिए ।
जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै राजनीतिक दबाबमा एमाले जनप्रतिनिधिहरूले कानुन विपरीत
प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गरेको भन्दै नगरप्रमुखले मन्त्रालयमै पुगेर सरुवा रोक्न लिखित रूपमा आग्रह गरेका थिए ।
गएकाे साउन ३ गते बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काफ्लेको सरुवाको निर्णय गरेपछि साउन ४ गते शुक्रबार नगरप्रमुख पौडेल मन्त्रालय नै पुगेर सरुवा रोक्न कर्मचारी प्रशासन महाशाखाका सहसचिव विष्णु ज्ञवालीलाई लिखित पत्र दिएका थिए ।
एमाले निकटहरुले ल्याउन लागेका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल वनकाे मुद्दामा परेपछि उनकाे सरुवा जीतपुर सिमरामा भएन । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/०५/२७ को निर्णय अनुसार सहसचिव वीरेन्द्र देव भारतीलाई जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो। तर मेयर पाैडेलले उनलाई पनि काम गर्न दिएनन् ।
उपमहानगरपालिकाका मेयर पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत भारतीलाई कामकाज गराउन असमर्थ रहेको बताएका थिए । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८१/०१/२० मा उर्मिला काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो र उनको सरुवाको विषयमा सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर भएको थियो।
मिति २०८१/०४/०९ मा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरी काफ्लेलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कायमै राख्ने निर्णय गरेको थियो। तर, अदालतको अन्तिम निर्णय नआउँदै सरकारले नयाँ अधिकृतको रुपमा भारतीलाई खटाएपछि उपमहानगरपालिका मेयर पौडेलले सरकारकाे कदम अदालतको आदेशको अवहेलना भएकाे बताउँदै भारतीलाई सिमरामा भर्ना हुन नदिने निर्णयमा पुगे। तर अब नयाँ अधिकृतले काम गर्ने बाटाे खुलेकाे छ ।