काठमाडौं महानगरको आर्थिक सहयोगमा बन्दै छ नारायण गोपाल संगीत कोषको भवन
लिफ्ट राखेर बनाउन उपमेयर डंगोलले दिइन् निर्देशन
Mayorsap
बुध, मंसिर १२, २०८१ | १७:३२ बजे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नारायण गोपाल संगीत कोषको भवनमा लिफ्ट राखेर पहुँचयुक्त बनाउन र भित्री संरचनाका सुविधालाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिएकी छीन ।
निर्माणाधीन भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उपमेयर डंगोलले यस्तो निर्देशन दिएकी हुन । ‘सार्वजनिक संरचना सबैका लागि हो । अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ’, उपमेयर डंगोलले भनिन् ‘भवन भित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ' ।
भवन निर्माणका लागि २०८० चैत ७ मा काठमाडौं महानगरले कार्यादेश दिएको थियो । यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल हुनेछ ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउण्ड प्रुफ स्टूडियो बनाइनेछ । भवनको बाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ । भवनको जम्मा क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ । यसको प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट हो ।
भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । वडा नं. ३ का अध्यक्ष प्रेम थापा भन्छन, ‘नारायण गोपालको घरलाई संग्रहालय बनाउने योजना छ ।’ यस घरमा उनले बजाउने हार्मोनियम छ । उनले प्राप्त गरेका सम्मानहरु छन् ।
यसपछि वडा नं. २, गैरीधाराको सहमति मार्गको अनुगमन भएको थियो । यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो । २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नु पर्ने थियो ।
यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो । यसका लागि ३७ लाख ३१ हजार रुपैयाँ हो । ९० मिटर लम्बाइ र २ मिटर चौडाइ भएको सडक खण्ड अनुगमनका क्रममा स्थानीयले खानेपानी आउन छोडेको गुनासो राखेका थिए ।
इञ्जिनियर सन्दिप ढकालका अनुसार ढल विस्तार र मेनहोल बनाउने काम सकिएको छ । सडक खनेको समयमा काठमाडौँ उपत्यका खानेपानी आयोजनासँग समन्वय गरेर पानी वितरणको पाइप पनि राखिएको छ । यसपछि सडक कालोपत्रे गर्ने र ढलानको काम बाँकी छ ।
अनुगमनमा जनप्रतिनिधिहरु, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, विभागीय प्रमुखहरु सुरज शाक्य, वसन्त आचार्य, सुमित्रा लामिछाने सुवेदी, साइड इञ्जिनियरसहित अधिकारीहरु थिए।