जनकपुर बोल्ट्सको लोगोमा विवाद, मालिक भन्छन् जुम गरेर हेर्नुस् जनकपुर मन्दिरकै आकृति भेटिन्छ !
अर्को वर्ष सायद लोगोमा पुनर्विचार गर्न सकिन्छ होला
Mayorsap
बिही, मंसिर १३, २०८१ | १३:३४ बजे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज जनकपुर बोल्ट्सको लोगोलाई लिएर सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ ।
जनकपुर बोल्ट्सले मस्जिदको तस्बिरलाई लोगोमा राखेको भन्दै सामाजिक सञ्जालमा चर्को बहस चलाइएको छ । तर नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज जनकपुर बोल्ट्सले भने उक्त विवाद नबुझेर गरिएको बताएको छ ।
जनकपुर बोल्ट्सको फेसबुक पेजमा धेरैले लोगो गलत भएको टिप्पणी गर्दै सच्याउन सुझाव दिएका छन् । मस्जिद शैलीको लोगोले जनकपुरको प्रतिनिधित्व नगर्ने उनीहरूको टिप्पणी छ ।
लोगोमा झट्ट हेर्दा मस्जिदको आकृति देखिन्छ । तर, नियालेर हेर्ने हो भने उक्त लोगो जानकी मन्दिरको माथिल्लो भागको बीचको बनावटसँग मिल्दोजुल्दो छ । यस विषयमा मेयरसापले जनकपुर बोल्ट्सका सञ्चालक निरोज खतिवडासँग बुझ्ने प्रयास गरेको थियो । खतिवडाले जनकपुर बोल्ट्सको लोगोका विषयमा धर्मलाई जोड्नु दुस्खद भएको बताए । उनले खेल कुनै धर्मसँग सम्बन्धित नहुने र लोगोमा राखिएको आकृति जनकपुर मन्दिरकै भाग भएको बताए ।
कम्पनीका सञ्चालक खतिवडा यस्ताे भन्छन्:
हामीले लोगो बनाउँदाखेरी जानकी माताको राख्नुपर्छ भन्ने थियो । मैले चाहिँ धार्मिक कुराहरू टच नगरौं । मान्छेहरूलाई मन नपर्न सक्छ भनेको थिएँ ।
आइसीसीले कुनै पनि धर्मको कुरा राख्नु पर्यो भने त्यो राख्न मिल्दैन भनेको छ । त्यसको कुनै भाग मात्रै राख्न मिल्छ भनेको छ । हाम्रो लोगोमा जानकी माताको माथिल्लो भागको हेड राख्ने कुरा भयो । हामीले धार्मिक कुरा सोचेर बनाएका हैनौं यो लोगो ।
डिजाइनरले चाहिँ माथिल्लो भागको जानकी मििन्दरको बीचको भागको राखे हुन्छ । रेस्पेक्ट पनि हुन्छ भनेर त्यही राख्यौं । जानकीको माथिल्लो भाग अहिले पनि जुम गरेर हेर्नुभयो भने त्यो गोलोगोलो आकारको छ । यो सेन्सेटिभ कुरा हो । यो आकृति बिगार्ने कुुरा हुँदै हुँदैन ।
त्यही नि भएकै भागकै कट गरेर लोगोमा राखिएको हो । तपाईँले अहिले पनि हेर्नुभयो भने त्यही माथिल्लो भाग नै छ । यो लोगो हामीले जानकी मन्दिरको फ्रन्ट फेसबाट कट गरेका हौं । आईसीसीको प्रोटोकलअनुसार कुनै पनि धार्मिक सम्पदाको पूरा आकृति लोगोमा राख्न मिल्दैन ।
त्यही भएर सिंगै जानकारी मन्दिर नदेखाइएको हो । माथिको पार्टमात्रै राख्दा धेरैलाई भ्रम पर्न गयो । नियालेर हेर्दा चाहीँ स्पष्ट थाहा हुन्छ कि लोगोको भाग हुवहु जानकी मन्दिरकै फ्रन्ट पार्ट हो ।
हाम्रो फ्रेन्चाइजले मात्रै हो लोगोमा स्थानीय धार्मिक सम्पदालाई यसरी समेटेको । सुरूमा धार्मिक कुरा नराख्ने कि भन्ने सोचिएको थियो । सुरूमा हामीले पनि फिल गरेको हो, मस्जिद जस्तो देखियो कि भनेर ।
तर, मन्दिर सिंगै हाल्न नमिलेको भएर यस्तो देखिन गयो । मान्छेहरूले हेर्दा त्यस्तो फिल गरे । हामी दुःखी छौं । अर्को वर्ष सायद लोगोमा पुनर्विचार गर्न सकिन्छ होला । तर, यो वर्ष चाहीँ हामीले परिवर्तन गर्न सक्ने अवस्था छैन ।