सुरु भयाे आजबाट कीर्तिपुरमा एनपीएल क्रिकेट, जनकपुर र विरटनगरबीच प्रतिस्पर्धा हुँदै
Mayorsap
शनि, मंसिर १५, २०८१ | १३:३४ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट काठमाडाैंकाे कीर्तिपुरमा सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको एनपीएलको उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमन्नेसामन्ने छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि विराटनगरले व्याटिङ सुरु गरेको छ ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । टोलीको नेतृत्व भने राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर अनिल साहले गरिरहेका छन् ।
मार्की खेलाडी आसिफ र कप्तान अनिलसँगै जनकपुर बोल्ट्ससँग स्पीनर ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।
जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याएको छ ।
जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्दै आएका श्रीलंकाली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
उता मार्की खेलाडीसमेत रहेको सन्दीप लामिछानेले विराटनगर किङ्सको कप्तानी सम्हालेका छन् । उनी विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका खेलाडीमा पर्छन् ।
कप्तान लामिछानेसँगै विराटनगरका लागि लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ खेलिरहेका छन् ।
विराटनगरले ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलमलाई टिममा समेटेको छ ।