थासाङ गाउँपालिकाको गुरुसाङ्वो गुफा पर्यटककाे नयाँ गन्तव्य बन्दै
गुफामा पुग्ने पदमार्ग बनेपछि भक्तजन र पर्यटकको चहलपहल बढेको हाे ।
Mayorsap
बिही, मंसिर २०, २०८१ | १३:३९ बजे
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।
थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको थासाङ–२ का वडाध्यक्षले बताए ।
भिरको बीच भागमा रहेको गुफामा पुग्ने पदमार्ग बनेपछि भक्तजन र पर्यटकको चहलपहल बढेको वडाध्यक्षले बताए । मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउनका लागि गुरुसाङ्वो गुफालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको पनि बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गुरुसाङ्वो गुफासम्म पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएका छन् ।
गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिए । वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आ.वमा गण्डकी प्रदेश सरकारले रु. २० लाख र गाउँपालिकाले रु. १० लाख विनियोजन गरेको छ ।
बेनी–जोमसोम सडकको लार्जुङ र बोक्सीखोलाबाट नाउरीकोटसम्म सवारीसाधनमार्फत र त्यहाँबाट ४५ मिनेट पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीस्थित पहाडको बीच भागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ । भिरालो गुफा करिब ५० मिटर लामो छ ।
गुफाभित्र गाईको सिङ्ग, भैँसीको थुन, हात्तीको सुढ, विभिन्न देवीदेवताका मुर्ति, पहाड, नदीनालालगायत आकृति देखिन्छन् । गुफाको मुनी झरना छ । वौद्ध धर्मावलम्बीका धर्मगुरु रिम्पोचेले तपस्या गरेकाले गुरुसाङ्वो गुफाको धार्मिक महत्व रहेको मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार नाउरीकोट गाउँबाट गुफा नजिकै जोड्ने लामो झोलुङ्गे पुल निर्माणका लागि हालै सर्वेक्षण पनि भएको छ ।
गुफा परिसरमा समुदाय स्थलमा लामाहरूको बसोबासका लागि आश्रयस्थल निर्माण भएका छन् । सिक्कीमका एक जना वौद्ध धर्मावलम्बीले व्यक्तिगत लगानीमा गुम्बाबाट करिब पाँच सय मिटर तल छोर्तेन निर्माण गरेका छन ।