प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा पनि नबोल्ने, राष्ट्रपतिलाई सम्बोधन गर्न पत्र

User Image मेयरसाप डेस्क | २०८३ जेठ ८ गते १३:२२
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ ।  

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।

तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको छ ।

पत्रमा भनिएको छ–  ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ ।’ 

संविधानको धारा ६६ को उपधारा (२) मा ‘उपधारा (१) मा अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ भनिएको छ । 

संविधानमै त्यस्तो सिफारिस प्रधानमन्त्रीले पेस गर्ने उल्लेख भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रमार्फत सिफारिस गरेको छ ।

 


Facebook Comments