ओलीलाई गलाउन कसैले सकेन, बालेनको गलत कामविरुद्ध ‘भण्डाफोर’ गर्ने

वरीयताक्रम निर्धारणः ओलीपछि बादल, अन्तिममा महेश

User Image मेयरसाप डेस्क | २०८३ जेठ ८ गते १०:५४
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-05-25-105149.png

सरकारमा बालेन, एमालेमा ओली, अरु स्वभाव फरक भएपनि जिद्धिपना हेर्दा ठ्याक्कै एकअर्काको फोटोकपी । यी दुवै न कसैसँग झुक्छन् न गल्छन्, आलोचनाको पहाडैले थिचेपनि छोड्दैनन् आफ्नो अडान ।

प्रधानमन्त्री बालेन शाहा संसदमा उपस्थित हुनु पर्यो, जवाफ दिनुपर्यो भनेर दैनिकजसो संसद अवरुद्ध हुँदा पनि बालेन टसकोमस भएनन् । यता एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउन अधिकांश सचिवालय सदस्य हात धोएरै लागे । तर कसैले ओलीको टाउकोको रौंसम्म हल्लाउन सकेनन् । बरु ४ दिनसम्म चलेको सचिवालय बैठकको अधिकांश निर्णय ओलीको चाहनाअनुसार नै भएको छ ।

बैठकले नेतृत्वको आलोचनालाई औपचारिक निर्णयमा दर्ज नगरी पन्छाएको छ । बरु उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएर समग्र समीक्षा गर्दै त्यसकै आधारमा अघि बढ्ने निर्णय गरेर तत्कालका लागि पार्टीभित्रको आक्रोश र आलोचना मत्थर पारिएको छ । थापा नेतृत्वको कार्यदल ओलीकै चाहनामा बनेको छ र थापा ओली नेतृत्वलाई नै साथ दिने पक्षका हुन्, त्यसैले यो कार्यदलले ओलीलाई हटाउने कुनै पनि निष्कर्ष निकाल्न सक्दैन । 

वरीयताक्रम निर्धारणः ओलीपछि बादल, अन्तिममा महेश
सचिवालय बैठकले सिंगो केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै केन्द्रीय सचिवालय सदस्यको वरीयताक्रम निर्धारण गरेको छ । ओलीले प्रस्ताव गरेका वरीयताक्रममा उपमहासचिव योगेश भट्टराईको वरीयता सुधारिएको छ । वरीयतामा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, शङ्कर पोखरेल, लेखराज भट्ट र योगेश भट्टराई लगायतका नेताहरू छन् । बैठकले गरेको वरीयता निर्धारणअनुसार महेश बस्नेत १९ औँ स्थानमा रहेका छन् ।

विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने
बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय गरेको छ । झन्डै एक वर्षको गलफती र विवादपछि एमालेले अन्ततः पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिँदै मागेको जिम्मेवारी पनि दिने निर्णय गरेको हो । यसअघि ओलीले भण्डारीको सस्दयता समेत नविकरण गर्न अस्वीकार गरेका थिए ।
सरकारका गलत कामविरूद्ध एमालेले ‘भण्डाफोर अभियान’ चलाउने
एमालेको सचिवालय बैठकले सरकारका गलत कामकारबाहीविरुद्ध ‘भण्डाफोर अभियान’  सञ्चालन गर्ने निर्णय समेत गरेको छ । 
एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भत्र्सना गरेको छ ।

मीनबहादुर–एमाले ’भवन काण्ड’ समाप्त, धन्यवादसहित दान फिर्ता 
एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट व्यावसायिक दानमा प्राप्त गर्न लागेको विवादित भवन र जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद सहित प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट बल्खुमा रहेको भवन बस्न लायक समेत नभएपछि एमालेले विभिन्न ठाउँमा भाडामा भवन लिएर कार्यालय चलाउँदै आएको छ। एमालेको आधुनिक भवन बनाएर दिन गुरुङले जग्गा दान दिने बताउँदै २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवन शिल्यान्यास गरेका थिए।

यो घटना सार्वजनिक भए लगत्तै एमालेभित्र समेत विरोध भएको थियो। तर विरोध गर्नेहरूलाई एमाले अध्यक्ष ओलीले निलम्बनै गरेका थिए। 


Facebook Comments