मेयरसाप

विद्यालय

विश्व सम्पदा

देउमाइ नगरपालिका

रमेश लेखक

मध्यविन्दु नगरपालिका

ललितपुरको बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण, बढ्यो किसानमा चिन्ता

दुई सय बढी बङ्गुरकाे मृत्यु

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | १४:१४ बजे

ललितपुर । यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।     
    
जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ । महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेको हो ।     
    
कात्तिकको अन्तिम साता नख्खु खोला आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि सङ्क्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए। अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका दुई सय भन्दाबढी बङ्गुर मरेका छन् । अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको छ । अत्यधिक मात्रामा बङ्गुरमा रोग फैलिँदै गएको छ ।     
    
बङ्गुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बङ्गुर मरेका हुन् ।     
    
दुई सयबढी बङ्गुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताए । अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बङ्गुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्ने उनले बताए । एकअर्काबीच पनि सङ्क्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्ने भएकोले सङ्क्रमण थप नफैलियोस भनेर किसानलाई उचित सल्लाह दिएको शाखा प्रमुख विष्टले बताए ।     
    
बङ्गुरलाई उक्त सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताए । महानगरभित्रका किसानले पालेका बङ्गुरमा रोग देखिएका छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्नका लागि पहल गरिरहेको सूचना अधिकारी सिंहले बताए ।      
    
अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताए । सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने उनले बताए ।     
    
गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले सङ्क्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताए । बङ्गुर मर्नेक्रम बढिरहेकोले सङ्क्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवातजावतमा रोक लगाएका उनले बताए । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएको पनि न्यौपानेले जानकारी दिए ।     
    
प्रमुख न्यौपानेले सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सातडिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिएका छन् ।     
  
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology