एनपीएलमा लुम्बिनीलाई सुदूरपश्चिमले हरायाे
Mayorsap
शनि, मंसिर २२, २०८१ | १३:१५ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सको हराएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । लुम्बिनीको यो लगातार तेस्रो हार हो ।
हारसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिमले भने जितको लय कायम राखेको छ । लगातार तेस्रो जित निकालेको सुदूरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेपनि सुदूरपश्चिम बलियो योगफल तयार गर्दै लुम्बिनीलाई हराउन सफल भयो । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।
जितका लागि एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन मात्रै बनायाे ।
लुम्बिनीको सुरुवाती ब्याटिङ लाइन धरासायी बन्यो । पहिलो पावर प्लेमै पाँच विकेट गुमाएको लुम्बिनीका लागि मध्यक्रममा ब्याट्सम्यान सन्दीप जोराले २० रन बनाए ।
त्यसपछि विवेक यादवले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टरेन । उनले ५४ बलमा तीन चौका र सात छक्का प्रहार गरे । दिनेश अधिकारीले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलन र सईफ जैवले तीन तीन विकेट लिए। जैव प्लेयर अफ दि म्याच बने। स्कट कुग्लेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए ।
उनले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हाने । यस्तै ब्रान्डन म्याकमुलनले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाए । आरिफ शेख शून्य रनमा पेभेलियन फर्किए ।
बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिए । जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
समान ६ अङ्क बनाएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ । अङ्कबिहीन लुम्बिनी अन्तिममा छ । शनिबार नै अर्को खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।