बससँग कार ठोक्किदा दुईको मृत्यु, ११ घाइते
Mayorsap
शनि, मंसिर २२, २०८१ | १४:०७ बजे

कपिलबस्तु । कपिलबस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका –३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र बिपरित दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र लु. ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
कारमा सवार प्युठान पकाला –७ का ४३ बर्षीय निमबहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका –४ हरीहरपुरका ४५ वर्षिय ईन्द्रबहादुर सार्कीको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उनले बताए।
गम्भीर घाइते भएका चार जनामध्ये तीनजनाको सिद्धार्थ नगर सिटि हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनीस्थित अल्सेक अस्पताल उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।